01/13/2026, 12:36:01
मङ्गलबार, पुष २९, २०८२

दुई करोडको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ


मुस्ताङ, पुस २९ गते ।मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपियाँ बराबरको इलेक्ट्रिक चुरोट  (भेप) सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिका ५ का ३२ वर्षीय पेमा लामा रहेको सशस्त्रका सह–प्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा तीन–चार दिनअघि चीनबाट अवैध रूपमा ल्याई नेपाल–चीन सीमाको कोरोला नाका नजिक गाडीमा लोड गरिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनी नियन्त्रणमा लिइएका हुन् । लामालाई कन्टेनरका चालकसहित नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट नेचुङ्गका नायव निरीक्षक उदयबहादुर कुमालको कमाण्डमा खटिएको सुरक्षा फौज, मुस्ताङ भन्सार कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले लामालाई कन्टेनरसहित नियन्त्रणमा लिएको हो ।

बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ । नियन्त्रणमा लिइएका लामालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा पठाइएको छ । कन्टेनर बिग्रिएको कारण त्यसमा रहेको टिस्यु पेपर र ट्वाइलेट पेपर भन्सार कार्यालयले सिल गरी सुरक्षित राखेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..