12/30/2025, 20:59:38
मङ्गलबार, पुष १५, २०८२

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी


काठमाडौँ, पुस १५ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी  गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उखान–टुक्कामा सीमित नभई व्यञ्जना सिद्धान्तका गहिरा दार्शनिक अभिव्यक्तिहरू भएको निष्कर्ष निकालिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रसमक्ष सानुमैँया खड्काले आफनो विद्यावारिधीको शोधमा पूर्वप्रधानमन्त्री ओलीका भाषणलाई पूर्वीय दर्शनको सैद्धान्तिक दृष्टिकोण अर्थात् व्यञ्जना सिद्धान्तबाट विश्लेषण गर्नुभएको हो ।

अध्यक्ष ओलीका अभिव्यक्तिमा प्रयोग हुने कथनमा व्यञ्जना अर्थ रहेको शोधको निष्कर्ष रहेको उहाँले सुनाउनुभयो । शोधमा ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा राष्ट्रिय आकाङ्क्षा एवं गन्तव्य मात्र नभई समयानुकूल विकसित हुँदै सिद्धान्त र दर्शनको रूपमा विकसित भएकोे आफ्नो ठहर रहेको खड्काको भनाइ छ ।

उक्त आकाङ्क्षा अब आत्मसम्मान र सामाजिक न्यायको समिश्रित आयामहरूमा आधारित दर्शन रहेको शोधको निचोड छ”, उहाँले भन्नुभयो । डा खड्काले उक्त शोधको आज प्रतिरक्षा (डिफेन्स)गरी उपाधि हासिल गर्नुभएको छ । यो नेपालको राजनीतिक वक्तृत्व परम्परामा पूर्वीय चिन्तनको प्रयोग गरिएको पहिलो विद्यावारिधिस्तरीय शोध भएको जनाइएको छ ।

शोधमा विश्व चर्चित नेताहरू बाराक ओबामा, डोनाल्ड ट्रम्प, सी चीनफिङ, नरेन्द्र मोदी लगायतका अभिव्यक्ति तथा भाषणशैलीको पनि तुलनात्मक अध्ययन गरिएको छ ।  तुलनात्मक समीक्षामा ओलीका अभिव्यक्तिहरूमा मौलिकता, सांस्कृतिक गहिराइ र प्रतीकात्मक भाषिक संरचनाको विशिष्ट पहिचान रहेको उल्लेख गरिएको छ ।

यस अध्ययनलाई नेपाली राजनीतिक भाषाशास्त्र, वक्तृत्व अध्ययन, दार्शनिक विमर्श तथा समकालीन राजनीतिक अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण शैक्षिक योगदानको रूपमा लिइएको छ । खड्काले आगामी दिनमा नेपाली नेताहरूका भाषण, अभिव्यक्ति र वैचारिक संरचनालाई व्यवस्थित रूपमा अभिलेखीकरण, विश्लेषण र शैक्षिक बहसमा रूपान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपाली नेताहरूका अभिव्यक्तिमा निहित सांस्कृतिक अर्थ, दार्शनिक गहिराइ र रूपकात्मक संरचनालाई समेटेर अघि बढाइने अनुसन्धान परम्पराले बौद्धिक जगत्लाई नयाँ दिशातर्फ उन्मुख गराउने विश्वास पनि व्यक्त गर्नुभयो । शोधका लागि डा ऋषिराम शर्मा निर्देशक तथा प्रा डा भागवत ढकाल र प्रा केशव सुवेदी विशेषज्ञ रहनुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..