12/17/2025, 12:33:18
बुधबार, पुष ०२, २०८२

नागढुंगा–मलेखु सडक आजबाट खुला


काठमाडौँ, पुस २ : नागढुंगा–नौबिसे मलेखु सडक खण्ड आजबाट केही दिन खुला रहने भएको छ । नागढुंगा-पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको र धादिङको गल्छी–गजुरी खण्डमा पर्ने अप्ठ्यारो पहाड कटिङको काम भने बाँकी रहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।

भिर कटिङको काम सकिएको छैन, लगातार सडक बन्द गर्दा यात्रु र चालकलाई सास्ती हुने भएकाले एक/दुई दिन खुला गर्न लागिएको हो,’ उनले भने, ‘त्यसपछी फेरि केही दिन गल्छी–गजुरी खण्ड बन्द गरेर पहाड कटिङको काम गर्छौं ।’ मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा सडक बन्द गरेर सडक सुधारको काम गरिएको थियो ।

सडक बन्द गर्दा एमाले महाधिवेशनलाई असर परेको गुनासो आएपछि २६ र २७ गते खोल्ने निर्णय गरिएको थियो । एमाले निकट युवा संघको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर केही सडक बन्द नगरिदिन आग्रह गरेका थिए । त्यसपछि दुई दिन दिउँसो कालोपत्रको काम रोकेर सडक खोलिएको थियो ।

उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकतामा राखेर दोस्रो तहको कालोपत्रको काम गरेको हो । अहिले धादिङको गल्छी–गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने भन्दै नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द हुँदै आएको थियो ।

नागढुंगा–नौबिसे खण्डमा पहिलो तहको कालोपत्रको काम सकिएर दोस्रो तहको भइरहेको योजना प्रमुख ओझाले बताए । ‘चालु आर्थिक वर्षमा पूरै ठेक्का नसकिए पनि कालोपत्रको काम सक्ने योजना छ,’ उनले भने, ‘पहिलो खण्डमा ८ किलोमिटर दोस्रो तहको कालोपत्र भएको छ ।’  यो खण्डको कूल दूरी १२.२६ किमि छ । दोस्रो तहको कालोपत्रको काम सकिनासाथ तेस्रो तहको थालिने उनको भनाइ छ । यस खण्डको समग्र भौतिक प्रगति ८० प्रतिशत छ । नौबिसेबाट खत्रीपौवासम्म सम्म भने दोस्रो तहको कालोपत्रको काम सकिएको छ ।

नौबिसे–मलेखु दोस्रो खण्डमा पर्छ । यसको दूरी ४३.५४ किमि छ । यस खण्डमा टेवा पर्खाल बनाउन बाँकी स्थानमा बनाउने काम भइरहेको प्रमुख ओझाले जनाए । ‘पुरानो कालोपत्र भत्काएर बेस राखी ग्राभेल गर्ने काम भइरहेको छ,’ उनले भने, ‘असारअघि १५ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको छ, अब २८.५४ किमि बाँकी छ, उक्त दूरीमा चालु आवभित्र कालोपत्रको काम सकिन्छ ।

जसमा केही खण्डमा मुद्दा मामिलाले गर्दा समस्या भएको उनले सुनाए । ‘यस खण्डमा दोस्रो तहको पनि ४ किमि सडक कालोपत्र भइसकेको छ,’ उनले भने, ‘१३ मध्ये ९ वटा पुलको निर्माण सकिसकेको छ ।’ यसको समग्र प्रगति ४६ प्रतिशत छ ।

– विमल खतिवडा