काठमाडौँ, पुस १५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियामा सहभागी हुन आफूहरु तयार भए पनि सरकारले वातावरण बनाउन अझै नसकेको बताउनुभएको छ । चुनावको वातावरण नबने विघटित संसद पुनःस्थापना हुने उहाँको भनाइ छ ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजना गरिएको ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठिमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । “मुलुकको लोकतन्त्र संकटमा परेका बेला सर्वोच्च अदालतले समयमै न्याय गर्न सक्नुपर्ने उहाँको सुझाव छ । समय घर्केपछि गरेको फैसलाको अर्थ रहँदैन, मुलुक संकटमा पर्दा अदालतले न्याय गर्न सक्नुपर्छ” अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “लोकतन्त्रमा निर्वाचनको विकल्प हुँदैन तर स्वस्थ निर्वाचनका लागि भयरहित वातावरण बन्नुपर्छ । राजनीतिक नेताहरुलाई लखेटेर निर्वाचन हुँदैन ।” उहाँले असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरिएकाले त्यसको पुनःस्थापना आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोही कोहीले निर्वाचन नहुँदै प्रधानमन्त्रीको भागबण्डा लगाएको सुनेको छु, त्यस्तो भागबण्डाको केही अर्थ छैन । निर्वाचन सम्पन्न भए पनि काँग्रेस र एमालेविना सरकार बन्न सक्दैन ।” मुलुकलाई प्रतिगमनमा लैजाने षडयन्त्र भए पनि एमाले र काँग्रेस जस्ता राजनीतिक शक्ति मुलुकमा रहुन्जेल लोकतन्त्रमा आँच आउन नदिइने उहाँले बताउनुभयो । देशको लोकतन्त्र, नीति, विधि, संविधान र राष्ट्रिय स्वाभिमानको मुद्दामा काँग्रेस र एमालेबिच सहकार्य हुने उहाँले बताउनुभयो ।

उहाँले एमालेको सम्पन्न ११ औं महाधिवेशनले नेतृत्वको लोकप्रियता र अलोकप्रियताका सम्बन्धमा व्यावहारिक जवाफ दिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण छ अत्यन्तै सामयिक छ । यतिबेला भन्नुपर्छ, जनअनुमोदित निरविवाद नेतृत्व तत्काल अद्यावधिक गरिएको नेतृत्वको टीम नेकपा (एमाले) सँग छ ।”
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एमालेको ११ औं महाधिवेशनले एमालेलाई विभाजित गर्न खोज्ने शक्तिलाई पराजित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा (एमाले) ले विभाजन गर्ने मनस्थितिलाई पराजित गरेको छ । एमाले नेपालको राजनीतिक दलहरुमा सबैभन्दा सङ्गठित र सुव्यवस्थित सङ्गठन हो भन्ने कुरा महाधिवेशनले पुष्टि गरेको छ ।” लोकतन्त्रलाई पुनःस्थापना गर्ने सङ्कल्प पनि महाधिवेशनले गरेको उहाँको भनाइ छ ।
एमाले नेता रामेश्वर फुयाँलले देशको कम्युनिष्ट पार्टीको अधिवेशनको विषयमा चर्चा गर्नुहुँदै देशमा विद्यमान गरिबी, पछौटेपन, शोषण, अभाव हटाउन आवश्यक रहेको बताउनुभयो । समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि कम्युनिष्ट पार्टीका अग्रजहरु मदन–आश्रित र बीपी कोइरालाको सपना पूरा गर्नुपर्ने भनाइ राख्नुभयो । एमाले र काँग्रेसजस्ता शक्तिको सहकार्यबाट मात्र मुलुक समृद्ध बन्ने उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रम मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्मा, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल लगायतले सम्बोधन गर्नुभएको थियो ।
– सपना थामी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










