12/30/2025, 21:43:16
मङ्गलबार, पुष १५, २०८२

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला


काठमाडौँ, पुस १५ गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभएको छ। मोरङ समाज काठमाडौँको वार्षिक साधारणसभालाई आज उद्घाटन गर्दै उहाँले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभयो।

कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन”, उहाँले भन्नुभयो। सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उहाँको भनाइ थियो।

नेता डा. कोइरालाले सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताउनुभयो।

जेन-जी आन्दोलनका क्रममा हजारौँ कैदीबन्दी भागेका छन्, प्रहरीका सयौँ हतियार लुटिएका छन्, प्रहरीको मनोबल खस्किएको छ, यस्तो अवस्थामा निर्वाचन गर्न सकिन्छ कि सकिँदैन”, उहाँले भन्नुभयो।