01/15/2026, 13:22:13
बिहिबार, माघ ०१, २०८२

देवघाटधाममा माघी मेला : तीन लाख भक्तजन, सुरक्षा व्यवस्था कडा


तनहुँ, माघ १ गते । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलामा यस वर्ष तीन लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । ठुलो जनसहभागितालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन तीन सयभन्दा बढी सुरक्षाकर्मी र गोताखोर सहितको विशेष टोली परिचालन गरिएको छ ।

मेलाको तयारीबारे जानकारी दिँदै देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले भन्नुभयो, “तीन लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरेका छौं, हामीले तीर्थयात्रीको यात्रा सरल र सुरक्षित बनाउन चितवन, तनहुँ र नवलपुरका प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी कम्तीमा तीन सय सुरक्षाकर्मी र १५० स्वयंसेवक खटाएका छौँ । नदीमा हुने सम्भावित दुर्घटना रोक्न सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोली लाइफ ज्याकेटसहित तयारी अवस्थामा रहनेछन् ।’’

उहाँका अनुसार स्नान क्षेत्रमा डोरी लगाएर सीमा निर्धारण गरिएको छ र सोभन्दा बाहिर जान निषेध गरिएको छ ।

ज्योतिषीय गणना अनुसार सूर्य मकर राशिमा प्रवेश गर्ने दिन देवघाटको वेणी सङ्गममा स्नान गर्नाले ठुलो पुण्य मिल्ने धार्मिक विश्वास छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. इश्वरीराज लौडारीले मेलाको भव्यता र गरिमाबारे भन्नुभयो, “देवघाटको धार्मिक गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न मेलालाई प्रभावकारी बनाउनु हाम्रो मुख्य चुनौती र अवसर हो । यसका लागि १५१ सदस्यीय मूल समारोह समितिले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।’’

मेलाको पवित्रता जोगाउन मांस र मदिरा नियन्त्रणमा विशेष कडाइ गरिएको छ । समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले भन्नुभयो, “देवघाटको आध्यात्मिक वातावरण र मांस–मदिरा एकैसाथ रहन सक्दैनन् । भक्तजनको आस्थामा चोट पुग्न नदिन स्थानीय प्रशासनको सहयोगमा हामीले मदिरा र सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएका छौँ ।’’

यसैगरी, गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजीले ऐतिहासिक र पौराणिक महत्त्वको यो तीर्थस्थलमा हुने विशाल जमघटले नेपालको सांस्कृतिक पर्यटनमा ठुलो योगदान पु¥याउने बताउनुभयो । मेलाका लागि त्रिशूलीको झोलुङ्गे पुल मर्मत गरिएको छ भने एक पटकमा १०० जनालाई मात्र हिँड्न दिने गरी जाम व्यवस्थापन मिलाइएको छ ।

वैकल्पिक मार्गका रूपमा ५० रुपियाँ भाडा तोकेर डुङ्गा र र्‍याफ्टिङ सञ्चालन गरिनेछ । पुस मसान्तको बिहान वेणी सङ्गममा लिङ्गो गाडेर सुरु हुने मेलाका लागि चितवन र तनहुँतर्फ छुट्टाछुट्टै पार्किङ र प्राथमिक स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको क्षेत्र विकास समितिले जनाएको छ ।

– अमरराज नहर्की