काठमाडौँ, माघ १ गते । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएका बन्दसूचीबाट १८ दलका १७५ उम्मेदवारले नाम फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिएका १८ दलमध्ये दुई दलको एक चुनाव चिह्न छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीको चुनाव चिह्न एउटै छ । चिह्नका आधारमा भने १७ चुनाव चिह्नका बन्दसूचीबाट १७५ नाम फिर्ता भएका हुन् । समानुपातिकको मतपत्रमा ५८ वटा चुनाव चिह्न रहने निश्चित भइसकेको छ ।
जनता समाजवादी पार्टी नेपालसँग एकीकृत भएपछि लोकतान्त्रिक समाजवादी पार्टीका ११० जना नै उम्मेदवारको नाम फिर्ता भएको छ । लोसपाका उम्मेदवारको नाम फिर्ता भए पनि समानुपातिक निर्वाचनतर्फको मतपत्रमा चुनाव चिह्न भने रहने छ । लोसपाका ३२ उम्मेदवारको नाम जसपाको बन्दसूचीमा समावेश भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार पुस २८ गते तोकिएको समयमा उम्मेदवारी फिर्ताको निवेदन दिनेमा उन्नत लोकतन्त्र पार्टीका खस आर्य समूहका दुई, एकल चुनाव चिह्न जाँतोका आदिवासी जनजाति समूह एक र गतिशील लोकतान्त्रिक पार्टीका एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आदिवासी जनजाति समूहका एक जनाले फिर्ता लिएका हुन् ।
यस्तै जनमत पार्टीका २० जनाले पनि बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । जसमा आदिवासी जनजाति समूहका चार र खस आर्यका १६ जना छन् । जनादेश पार्टी नेपालका छ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा आदिवासी जनजाति समूहका तीन, खस आर्य समूहका एक, थारू र दलित समूहका एक/एक जना छन् ।
नेकपा (एमाले) का पाँच जनाले नाम फिर्ता लिएका छन् । फिर्ता लिनेमा आदिवासी जनजाति समूहका दुई, खस आर्यका दुई र मधेशी समूहका एक जना छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चार जनाले नाम फिर्ता लिएका छन् । जसमा खस आर्य समूहका दुई र आदिवासी जनजाति तथा मधेशी समूहका एक/एक जना छन् । नेपाली जनता पार्टीका आदिवासी जनजाति समूहका एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेसका खस आर्य समूहका दुई उम्मेदवारले नाम फिर्ता लिएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका मधेशी समूहका दुई जनाले पनि नाम फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका खस आर्य समूहका एक जनाले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् ।
राष्ट्र निर्माण दल नेपालका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा खस आर्य समूहका तीन र दलित समूहका एक जना छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जनाले नाम फिर्ता लिएका छन् । जसमा आदिवासी जनजाति समूहका पाँच, खस आर्य समूहका छ र मधेशी समूहका एक जना छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका आदिवासी जनजाति र मधेशी समूहका एक/एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टीका एक/एक जनाले नाम फिर्ता लिएका छन् । मञ्चका आदिवासी जनजाति समूहका एक र नागरिक पार्टीका दलित समूहका एक जनाले नाम फिर्ता लिएका हुन् ।
निर्वाचन आयोगको सूचना बमोजिम उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत नामावली फिर्ता लिएका हुन् । उम्मेदवारले नाम फिर्ता लिएकोबारे अब आयोगले सम्बन्धित राजनीतिक दललाई सूचित गर्ने छ । रिक्त रहेको स्थानमा दलले नयाँ उम्मेदवार सिफारिस गर्न पाउने छन् । माघ ४ गते आयोगले बन्दसूची सार्वजनिक गर्ने छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














