01/15/2026, 13:40:35
बिहिबार, माघ ०१, २०८२

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शंकर पोखरेल


दाङ, माघ १ : एमाले महासचिव शंकर पोखरेलले रबी लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन् ।

प्रेस चौतारी दाङले बिहीबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले उक्त निर्णय फिर्ता लिन सरकारलाई आग्रह पनि गरे । यस कार्यले भदौ २३ र २४ गतेको आन्दोलनको अन्तर्य पनि पुष्टि गरेको उनले बताए । प्रहरी र अदालतमाथि आक्रमण गर्नुको उदेश्य पनि स्पष्ट हुँदै गएको उनको भनाइ छ ।

नयाँ शक्तिको नाममा कानुनी राज्यलाई चुनौती दिन नमिल्ने बताउँदै उनले स्वतन्त्र पार्टीलेसमेत यस निर्णयको विरोध गर्न सक्नुपर्ने विचार व्यक्त गरे । प्रहरीको मनोबल गिराएर देशमा शान्ति सुरक्षा कायम गर्न नसकिने उल्लेख गर्दै उनले सरकारको गतिविधि प्रहरीको मनोबल बढाउनतर्फ केन्द्रित नभएको बताए ।

उनले राजनीतिक दलहरू बलियो भए मात्र लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे । यसका लागि कांग्रेस समयमै सचेत भएर एकताबद्ध पार्टी बनाउन लाग्नुपर्ने बताए । एमाले संसद् पुनस्थापनाको पक्षमा हुँदाहुँदै पनि लोकतान्त्रिक मान्यतालाई सम्मान गर्दै निर्वाचनमा जान तयार भएको उनले बताए ।

लोकप्रियतावाद् अराजकतावादमा परिणत भैरहेको उल्लेख गर्दै उनले यो देश बनाउने बाटो नभएको बताए । अहिले पुरानो पुस्ता र नयाँ पुस्ताबीच द्वन्द सिर्जना गरी समाज र देश विखण्डन गर्ने षड्यन्त्र भैरहेको पोख्रेलले बताए । यसले राष्ट्र कमजोर बनाउने धारणा व्यक्त गर्दै उनले नेपाली समाज पुराने र नयाँ पुस्ताको सहकार्यबाट नै समृद्ध भएको बताए ।

– दुर्गालाल केसी