काठमाडौँ, माघ १ : खाडी र मलेसियामा केन्द्रित वैदेशिक रोजगारी ठगी युरोपेली मुलुकतर्फ सरेको छ ।
युरोपका क्रोएसिया, रोमानिया, पोल्यान्ड, माल्टाजस्ता देशमा युवाको आर्कषण भएपनि यि देशहरुमा कामदार लैजान म्यानपावर कम्पनीहरूको माग सक्दैनन् । जसको फाइदा व्यक्ति र कन्सलटेन्सीको आवरणमा ठगी धन्दा चलाउनेहरुले लिइरहेका छन् ।
युरोपेली मुलुक रोमानिया जाने भन्दै धनकुटाका टेकनाथ तिम्सिना र झापाका चन्द्र ताजपुरीयाले एजेन्ट नुरूप्रसाद पाठकलाई जनही चार-चार लाख बुझाए । तर पैसा बुझाएपछि एजेन्ट सम्पर्कविहीन भएपछि उनीहरू काठमाडौं आएका छन् । फसेको पैसा उठ्ने आशाले दुबै जनाले प्रहरी र श्रम विभागमा उजुरी बुझाएका छन् । तर फसेको पैसा कसरी उठछ दुवैलाइ थाह छैन् ।

वैदेशिक रोजगार विभागमा पछिल्लो ६ महिनामा ठगीका २ हजारभन्दा बढी उजुरी परेका छन्, जसमध्ये ८० प्रतिशत उजुरी व्यक्तिगत ठगीका रहेका छन् । यो अवधिमा १ अर्ब ४२ करोड ठगी भएको उजुरी परेको छ । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा श्रमिकहरु संस्थागतभन्दा पनि व्यक्तिगत तवरले गइरहेका छन् ।
युरोपेली मुलुकमा नेपाली श्रमिकको आर्कषण रहे संस्थागत तवरले माग ल्याउन सम्वन्धित देशमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्नुपर्छे । तर दूतावासहरुले सरकारको स्पष्ट निर्देशन नआएको भन्दै प्रमाणीकरण गरेका छैनन् । यही परिस्थितीको फाइदा दलालहरुले उठाइरहेका छन् । अनि त्यसको मारमा टेकनाथ र चन्द्रजस्ता युवाहरु परिरहेका छन् ।

विभागका अनुसन्धान अधिकारीहरुका अनुसार इजाजतवाला म्यानपावर कम्पनीहरु संलग्न नभएपछि गेष्ट हाउस, एजेन्ट तथा शैक्षिक परामर्शदाता कम्पनीहरुले अवैध पठाउन खोज्दा ठगि बढेको हो । वैदेशिक रोजगार विभागमा दैनिक १० देखि १२ जनाले व्यक्तिगत तहमा ठगिएको भन्दै उजुरी दिइरहे पनि सरकारले यसलाई व्यवस्थित भने गर्न सकिरहेको छैन ।

वैदेशिक रोजगार विभागमा ठगीका ३६ हजारभन्दा बढी मुद्दा छन् । तर, विभागमा छिटो-छिटो हुने नेतृत्व परिवर्तन र प्राथमिकतामा नपर्दा ती मुद्दाको न्यायिक निरुपण हुन सकिरहेको छैन ।
– सुमन पन्थ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














