01/15/2026, 20:28:58
बिहिबार, माघ ०१, २०८२

‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’


काठमाडौँ, माघ १ गते। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण समारोहमा प्रमुख शाहले कतिपय भाषाका लिपी हराइसकेका, कतिपय भाषा विलिन भइसकेका उल्लेख गर्दै यस्ता लोप हुन लागेका भाषा र लिपी खोजी गरी संरक्षणमा हातोमालो गर्न सबैलाई आह्वान गर्नुभयो ।

किरात राई यायोक्खाद्वारा किरात यलम्बर सम्वत ५०८६ को अवसरमा आयोजित पुरस्कार समारोहमा उहाँले प्रत्येक समुदायले आफ्नो कला, संस्कृति, मूल्यमान्यता र पहिचानसँग जोडिएका भाषा जोगाउँदै जानुपर्ने धारणा राख्नुभयो ।

देशभर विभिन्न जातजाति, समुदाय र सभ्यता रहेको उल्लेख गर्दै महानगर प्रमुख शाहले ती सबैको संरक्षण र सम्वर्द्धन गर्नु साझा दायित्व भएको बताउनुभयो । “हाम्रो भाषा, कला र संस्कृति जोगाउनु भनेको व्यक्तिगत मात्र नभइ सिङ्गो देशको पहिचान जोगाउनु हो”, उहाँले भन्नुभयो, “तपाईंले आफ्नो भाषा जोगाइरहनु भएको छ भने देशलाई पनि जोगाइरहनु भएको छ ।

प्रमुख शाहले नेपालका सबै कला र सम्पदालाई संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्दै जानुपर्ने आवश्यकता औँल्याउँदै एक सभ्यताले अर्को सभ्यताको सम्मान र संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

आफू जुनसुकै सभ्यतामा रहे पनि अन्य संस्कृति र सभ्यताप्रति सम्मान र इज्जतको भावना हुनुपर्ने उहाँको भनाइ छ । “त्यसले गर्दा अरू मात्र होइन, हामी आफैँ सुरक्षित हुन्छौँ र सबै कला, संस्कृति, मूल्य-मान्यताको संरक्षणमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..