01/15/2026, 19:58:33
बिहिबार, माघ ०१, २०८२

सिमलताल बस दुर्घटना : त्रिशूलीमा अवशेष निकाल्ने काम पाँचौँ दिनसम्म जारी


तनहुँ, माघ १ गते । चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि बेपत्ता रहेको बसको अवशेष निकाल्ने कार्य पाँचौँ दिनसम्म जारी छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित नदी किनारमा आइतबार फेला परेको बसको भग्नावशेषलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले अझ तीव्र गतिमा उत्खनन् गरिरहेको छ ।

बसको अवशेष विगत १८ महिनादेखि त्रिशूलीमा गाडिएको अवस्थामा थियो। वि.सं. २०८१ असार २८ गते पहिरोसँगै खसेको काठमाडौं–गौर यात्रा गर्ने ‘गणपति डिलक्स’ (बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बर) बस आइतबार बालुवा र गेग्रानको थुप्रोमुनि फेला परेको हो।

blog

प्राप्त जानकारी अनुसार आइतबारदेखि हालसम्म अथक प्रयासले पनि बसको धेरै भाग अझै बालुवामा गाडिएको र लेदोले भरिएकाले निकाल्न चुनौतीपूर्ण भएको छ । जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने, “बस निकै गहिरोसँग पुरिएको र क्षतविक्षत अवस्थामा छ। त्यसैले प्राविधिक सावधानी अपनाउँदै उत्खनन जारी राखेका छौँ ।

सिमलताल दुर्घटनामा दुईवटा बस त्रिशूलीमा खस्दा ५१ यात्रु अझै बेपत्ता छन्। भारतका गोताखोरले समेत लामो समय खोजी गर्दा फेला पार्न नसकेको बसको अवशेष आइतबार भेटिएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाट, आँबुखैरेनीसहित चितवन र तनहुँका ५० भन्दा बढी सुरक्षाकर्मी परिचालित छन् ।

– अमरराज नहर्की