काठमाडौँ, माघ १ गते । प्रधानमन्त्री सुशीला कार्कीले बहुलता नेपालको मौलिक पहिचान भएको बताउनुभएको छ ।
माघी पर्वका अवसरमा बिहीबार काठमाडौँमा आयोजित ‘थारू राष्ट्रिय माघी महोत्सव – २०८२’ मा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पश्चिमको कन्चनपुरदेखि पूर्वको झापासम्म थारू समुदायको सघन बसोबास रहेको भन्नुहुँदै माघी पर्व आफ्ना लागि पनि विशेष पर्व रहेको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मेरो बालयकाल थारू साथीसँग बितेको छ । माघी पर्व मेरा लागि पनि विशेष पर्व हो । पश्चिमको कन्चनपुरदेखि पूर्वको झापासम्म सघन बसोबास रहेको थारू समुदाय देश, विदेशमा पुगेको छ । काठमाडौंमा भव्यरुपमा कार्यक्रम मनाइएको छ । हामी बहुल छौं तर सँगै छौं । यही नै हाम्रो मौलिक पहिचान हो ।”
उहाँले माघी पर्वको अवसरमा सद्भाव, सहकार्यको माध्यमबाट नेपालमा आशा, ऊर्जा र एकताको सन्देश फैलने कामना व्यक्त गर्नुभयो । थारू समुदायको अधिकार प्रदानका लागि सरकारले विचार, विमर्श गरेर अघि बढ्ने उहाँको भनाइ छ ।
पूर्वमन्त्री एवम् उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले नेपाल बहुसांस्कृतिक, बहुभाषिक, बहुजातिय मुलुक भएको भन्नुहुँदै यो नै नेपालको विशेषता रहेको बताउनुभयो । नेपालको बहुसंस्कृतिलाई संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले नेपालका सम्पुर्ण नागरिकले आत्मसम्मन र सहअस्तित्वको भावना अगाडि बढाउन पाउनुपर्ने भनाइ राख्नुभयो ।
पूर्वमन्त्री तेजुलाल चौधरीले थारू, मधेसी, दलित लगायतका समुदायले अधिकार प्राप्तिका लागि धेरै सङ्घर्ष गर्नुपरेको बताउनुभयो । उहाँले थारू समुदायको प्रतिनिधि तथा अधिकार सुनिश्चित गराउन आगामी चुनावमा तयारीका साथ अघि बढ्नुपर्ने भनाइ राख्नुभयो ।
नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का अध्यक्ष गेल्जे लामा शेर्पाले देश अहिले संकटको अवस्थामा रहेको भन्नुहुँदै आगामी चुनावमा थारू समुदाय एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आदिबासी जनजाति समुदायको नेतृत्व निर्णायक तहमा नपुगेसम्म ठोस उपलब्धि नहुने समेत बताउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय परिषद्का अध्यक्ष लक्की चौधरीले एकता र मेलमिलापका लागि माघी महोत्सव आयोजना गरिएको भन्नुहुँदै विगत लामो समयदेखि थारू समुदायले पाउने हक, अधिकारका सम्बन्धमा प्रश्न गर्दै आएको बताउनुभयो । समानुपातिक समावेशीता, मातृभाषामा शिक्षा, थारुहट लगायतका विषयमा राजनीतिक दललाई खबरदारी गर्दै आएपनि यो अझै कार्यन्वयन हुन नसकेको उहाँको भनाइ छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुन लाल चौधरीले माघी पर्व समग्र नेपालीको एकताको पर्व रहेको बताउनुभयो । माघी पर्वले नेपालीको उन्नति, प्रगति, समृद्धि हासिल गर्ने सन्देश प्रवाह गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घका अध्यक्ष चन्द्रप्रसाद चौधरीले थारू समुदायले नयाँ वर्षको रुपमा माघी महोत्सव मनाउँदै आएको बताउनुभयो । थारू समुदायको हक, अधिकार प्राप्तिका लागि सरकार लगायत सरोकारवालाको उचित ध्यान जान सक्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा सञ्चार तथा सूचना, प्रविधि मन्त्री जगदिश खरेल, पत्रकार ऋषि धमला, डा. गोपाल दहित लगायत सहभागी हुनुभएको थियो ।
महोत्सवका संयोजक एवम् थारू कल्याणकारी सभाका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा युवा उद्यमी शिवबहादुर चौधरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारिणी सदस्य सेतेमान तामाङ, थारू महिला समाजका अध्यक्ष अनिता चौधरी, नन्दराज चौधरी लगायतले मन्तव्य राख्नुभयो ।
– सपना थामी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












