01/15/2026, 21:58:33
बिहिबार, माघ ०१, २०८२

विशिष्ट परिस्थितिमा आपसी विश्वासको खाँचो छ : प्रधानमन्त्री कार्की


काठमाडौँ, माघ १ गते। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको विशिष्ट परिस्थितिमा अझ बढी एकता, सहकार्य र आपसी विश्वासको खाँचो रहेको बताउनुभएको छ।

माघे सकरातीका अवसरमा नेपाल मगर सङ्घ सहित विभिन्न सङ्घ-संस्थाको पहलमा काठमाडौँको टुँडिखेलमा बिहीबारआयोजित शुभकामना आदन–प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “आज हामी माघ १ गतेलाई माघी, मकर संक्रान्ति र माघे सकराती जस्ता विभिन्न नामले यो पर्व मनाइरहेका छौं। नाम फरक भए पनि यसको आत्मा एउटै हो। यी पर्वहरूले हामी नेपालीबीच आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउँदै आएका छन्। वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा हामीबीच अझ बढी एकता, सहकार्य र आपसी विश्वासको खाँचो छ।

उहाँले मौलिक संस्कृति र परम्पराको सम्वद्र्धन गर्दै यसलाई पर्यटनसँग पनि जोड्नुपर्ने धारणा समेत राख्नुभयो।

उहाँले भन्नुभयो, “विश्वले नेपाललाई हेर्ने मुख्य कारण दुईवटा छन्। हाम्रो अनुपम प्राकृतिक सौन्दर्य र यहाँ बसोबास गर्ने विविध जातजातिको समृद्ध संस्कार, संस्कृति र जीवनशैली। प्रकृति र संस्कृति यी दुवै कुरालाई हामीले पर्यटनसँग जोड्नुपर्छ। बहुजातीय र बहुसांस्कृतिक राष्ट्रको रूपमा हामीले हरेक समुदायको पहिचानलाई सम्मान गर्दै त्यसलाई पर्यटनको अभिन्न अंगका रूपमा विकास गर्न आवश्यक छ।

उहाँले समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ रहेको पनि बताउनुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “नेपाली समाज मूलतः प्रकृतिप्रेमी र प्रकृतिवादी हौँ। हामी प्रकृतिलाई भगवान् मानेर पूजा गर्छौं, प्रकृतिको लयअनुसार आफ्ना आचार–व्यवहार र जीवनशैली निर्धारण गर्छौं। उधौली–उभौलीदेखि माघे सकरातीसम्मका पर्वहरू प्रकृतिसँग हाम्रो गहिरो सम्बन्धका जीवन्त उदाहरण हुन्।