01/16/2026, 12:52:11
शुक्रबार, माघ ०२, २०८२

नेपाल–भारतबिच प्रगाढ सम्बन्ध,विकासनिर्माणमा निरन्तर सहयोग


गाईघाट (उदयपुर), माघ २ गते । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बोक्सेमा मित्रराष्ट्र भारत सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको स्थानीय बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ ।

तीन तला र २४ कोठा रहेको सुविधासम्पन्न उक्त भवन त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र नेपालका लागि भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियले संयुक्त रूपमा बिहीबार उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वसन्तकुमार बस्नेतले नेपाल–भारतको सम्बन्ध सताब्दिऔँ पुरानो रहेको र दुवै देशबिच आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सुमधुर सम्बन्ध रहिआएकोले भौतिक पूर्वाधार तथा निर्माण क्षेत्रमा भारतको सहयोग रहँदै आएको बताउनुभयो ।

नगरप्रमुख बस्नेतले भारतीय सरकारको आर्थिक सहयोगमा उदयपुरमा धेरै योजना सञ्चालनमा रहेको, कतिपय पूरा भएको र कतिय आयोजना निर्माणकै चरणमा रहेको जानकारी दिँदै त्रियुगा नगरपालिकामा बालमन्दिर माध्यमिक विद्यालयलगायतका अन्य विद्यालय, त्रियुगा नगर अस्पताल, श्रीपुर खानेपानी योजनालगायतका महìवपूर्ण योजना सञ्चालन रहेको बताउनुभयो ।

सोही कार्यक्रममा भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियले नेपाल–भारत सम्बन्ध सताब्दिऔँ पुरानो रहेको बताउनुभयो । दुवै देशको सांस्कृतिक, भाषिक तथा रहनसहनमा समेत समानता रहेकोले एकापसमा आर्थिक, सामाजिक, भौतिक तथा अन्य विविध प्रकारका सहयोग निरन्तर भइरहेको बताउनुभयो ।

उहाँले भारतीय सरकारको सरहयोगमा नेपालको कोशी प्रदेशमा मात्र ९८ वटा परियोजना सञ्चालनमा रहेको र उदयपुरमा विभिन्न क्षेत्रमा गरी १२ वटा परियोजनाको काम भइरहेको जानकारी दिँदै द्वितीय सचिव गरिमाले नेपालमा आपत्विपत् तथा विभिन्न समयमा विभिन्न प्रकारका आकस्मिक अवस्थामा समेत भारत सरकारले सहयोग गरिरहेको बताउनुभयो । बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर खड्काका अनुसार विद्यालय निर्माणका लागि भारतीय दूतावासबाट चार करोड ८६ लाख ९७ हजार ७३१ रुपियाँको बजेट स्वीकृत भएको हो ।

विद्यालय निर्माणका क्रममा मूल्यवृद्धिका कारण पहिलो स्टिमेटको मूल्य कम भएपछि पुनः स्टिमेट गरेर निर्माण सुरु गरेको जानकारी दिँदै प्रअ खड्काले दूतावासको आर्थिक सहयोगमा दुई वटा भवन निर्माण भएको र दुवै भवनमा तीन तला २४ कोठा रहेको बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..