01/26/2026, 13:10:53
सोमबार, माघ १२, २०८२

अमेरिकामा दुर्घटनामा पर्‍यो ८ जना सवार निजी जेट


वासिङटन डीसी,माघ १२ गते । अमेरिकाको मेन राज्यस्थित बाङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझ एक निजी जेट विमान दुर्घटनाग्रस्त भएको छ। संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार आठ जना सवार रहेको निजी जेट उडान भर्ने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेकाहरूको अवस्था हालसम्म स्पष्ट नभएको र उनीहरूको चोटपटकसम्बन्धी विवरण सार्वजनिक नभएको एक स्रोतले जनाएको छ। संघीय अभिलेखअनुसार उक्त विमान ह्युस्टनस्थित एक लिमिटेड लाइबिलिटी कर्पोरेसनको नाममा दर्ता रहेको छ। विमानमा तीन जना चालक दल र पाँच जना यात्रु रहेको हुन सक्ने अधिकारीहरूले बताएका छन्।

दुर्घटनाग्रस्त विमान बम्बार्डियर च्यालेन्जर ६५० मोडेलको व्यवसायिक जेट हो। बाङ्गर विमानस्थलका अनुसार स्थानीय समयअनुसार आइतबार साँझ करिब ७ः४५ बजे घटनास्थलमा आपतकालीन टोली खटाइएको थियो। ‘प्राथमिक उद्धार टोलीहरू अझै घटनास्थलमै छन् र थप जानकारी उपलब्ध हुन केही घण्टा लाग्नेछ,’  बाङ्गर सहर र बाङ्गर अन्तर्राष्ट्रिय विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। दुर्घटनापछि विमानस्थल आइतबार रातभरका लागि बन्द गरिएको छ।

एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)ले संयुक्त रूपमा दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन्। प्रारम्भिक जानकारीअनुसार विमानले टेकअफका लागि रनवे ३३ बाट उडान अनुमति पाएको थियो। तर त्यसको करिब दुई मिनेटपछि एयर ट्राफिक कन्ट्रोलरले ‘सबै उडान रोकिएको छ’  भन्दै रेडियो सन्देश दिएका थिए। त्यसलगत्तै ‘विमान उल्टिएको अवस्थामा छ’  भन्ने सूचना पनि प्रसारण गरिएको थियो।

दुर्घटनाको समयमा उत्तरपूर्वी अमेरिकामा ठूलो हिम आँधी सक्रिय थियो। मेन राज्यमा तापक्रम शून्यभन्दा तल झरेको, हल्का हिमपात भइरहेको र दृश्यता अत्यन्तै कम रहेको बताइएको छ। टेकअफअघि पाइलट र कन्ट्रोलरबीच डिआइसिङ र कमजोर दृश्यताबारे भएको कुराकानी अडियो रेकर्डमा सुन्न सकिन्छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..