01/25/2026, 17:41:35
आइतबार, माघ ११, २०८२

चलचित्र ‘कुमारी’ को ट्रेलरमा प्रेम र द्वन्द्वको भावनात्मक यात्रा


काठमाडौँ, माघ ११ : माघ २३ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘कुमारी’ को ट्रेलर भृकुटीमण्डपमा सांगीतिक साँझसँगै सार्वजनिक गरियो ।

कार्यक्रममा निर्देशक दिनेश राउतले दर्शकको ठूलो संख्यामाझ ट्रेलर सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । ट्रेलर सार्वजनिक कार्यक्रममा पार्श्व गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को प्रस्तुति रहेको थियो । साथै ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ ब्यान्डले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले दर्शकको उपस्थितिप्रति धन्यवाद व्यक्त गरे । ट्रेलरले प्रेम, पारिवारिक सम्बन्ध र पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको देखिन्छ ।

ट्रेलरमा अबिषेक खड्काले निर्वाह गरेको पात्रलाई परिस्थितिले थिचिएको युवकका रूपमा प्रस्तुत गरिएको छ भने आकृति राजभण्डारीको पात्र आत्मसम्मान र निर्णय क्षमतामा आधारित देखिन्छ । दृश्य, संवाद र संगीतमार्फत कथाको प्रवाह देखाउने प्रयास गरिएको छ । ट्रेलरको सम्पादन शाहिल खानले गरेका हुन् । कार्यक्रममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री थिन्ले ल्हामोले कलाकारलाई शुभकामना दिएका थिए ।

निर्देशक राउतले यसअघि ‘आइ एम सरी’, नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । ‘कुमारी’ विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित हो भने कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।

चलचित्रमा अबिषेक खड्का, आकृति राजभण्डारीका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतको अभिनय रहेको छ । छायांकन सुसन प्रजापतिले गरेका हुन् ।

यसअघि सार्वजनिक गीत ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले चर्चा पाइसकेका छन् । फिल्म माघ २३ गते देशभर प्रदर्शनमा आउनेछ ।