01/18/2026, 20:02:13
आइतबार, माघ ०४, २०८२
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव - अप्रिल २-६, २०२६

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १९ देखि, ४० देशका ८८ फिल्म


काठमाडौँ, माघ ४ : नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान ले नेपाली चलचित्र लाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौं संस्करण चैत १९-२३ गते (अप्रिल २-६, २०२६) सम्म हुने भएको छ ।

निफको नवौं संस्करणमा दर्शकहरूले पाँच दिनभित्र ४० देशका ८८ चलचित्रहरू हेर्न पाउनेछन् र चलचित्रकर्मीहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि पाउनेछन्।

विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो । यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर चलचित्रहरु चयन गरिएको निफले जनाएको छ ।

हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रहरुलाई प्राथमिकता दिएका छौं । निफलाई युवा मैत्री बनाउने हाम्रो प्रयास रहेको छ,’ निफका अध्यक्ष केपी पाठक भन्छन्, ‘युवा मेकरहरुलाई प्रत्सोहन गर्न हामीले एआई चलचित्र मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौं । चलचित्रबाट युवा दर्शकहरुलाई आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ ।

यो वर्ष ८० बढी देशबाट ८०० बढी चलचित्रहरुले महोत्सवमा सहभागी हुन आवेदन दिएको निफले जनाएको छ ।  तीमध्ये उत्कृष्ट र युवाको चासोमा रहेका चलचित्रहरु चयन गरिएकाले यस संस्करणको निफको स्क्रिनिङ विशेष रहने ‘महोत्सव चलचित्र छनोट समिति’को विश्वास छ ।

पहिलाका संस्करणको तुलनामा यो पटक बढी चलचित्रको सहभागिता भएको छ । सबैभन्दा बढी फिल्म प्राप्त भएको संस्करण बनेको छ,’ अध्यक्ष पाठक भन्छन्, ‘यो भनेको अन्तर्राष्ट्रिय फिल्म समुदाय र मेकरहरुको निफ प्रतिको विश्वास बढेको हो ।

विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका, संघाई, लोकार्नो, बुसान, गोवा लगायत चलचित्र महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर चलचित्र, सर्टफिल्म, एआईबाट बनेका चलचित्र र डकुमेन्ट्रीहरु गरी ४० देशका ८८ वटा चलचित्रहरु निफले छनौट गरेको हो ।

गत जुनमा निफले विश्वव्यापी आवेदन खुलाएको थियो । त्यसबेला निफ फागुनमा २१ देखि सुरु हुने घोषणा गरिएको थियो । गत भदौं २३–२४ मा भएको जेन-जी आन्दोलनले फागुनमा आम निर्वाचन हुने भएकाले यसको मिति एक महिनापछि सारिएको छ ।

अध्यक्ष पाठक भन्छन्, ‘निर्वाचन हुँदा यातायात देखि सुरक्षाका विषयहरु सरोकारमा पर्छन् । यिनै सुरक्षा र जटिलतालाई मध्यनजर गरी तथा आगामी निर्वाचन विशेष महत्वको भएकोले सबैको चासो र आम जनता सभागीता हुनपर्ने अवस्थालाई समेत ख्याल गर्दै निफलाई एक महिनापछि सारिएको हो ।

यी विधामा दिइनेछ अवार्ड

निफको शीर्ष अवार्ड सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रका विजेता ‘गौतम बुद्ध अवार्ड’ बाट एक हजार पाँच सय (१,५००) अमेरिकी डलर नगद र ट्रफीले पुरस्कृत हुनेछन् ।  त्यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रका विजेता एक लाख (१,००,०००) रुपैयाँ नगद र ट्रफीले सम्मानित हुनेछन् । डकुमेन्ट्री फिल्म विधामा सर्वोत्कृष्ट ठहर हुने ‘माउन्टे एभरेस्ट अवार्ड’ विजेता घोषित भई पुरस्कार स्वरुप एक हजार (१,०००) अमेरिकी डलर र ट्रफी पाउनेछन् ।

सर्वोत्कृष्ट दक्षिण एसियाली फिचर चलचित्र विधाका विजेता पनि पाँच सय (५००) अमेरिकी डलर र ट्रफीले सम्मानित हुनेछन् । एआई चलचित्र विधाका विजेता ‘मञ्जुश्री अवार्ड’ मार्फत पाँच सय (५००) अमेरिकी डलर र ट्रफीले पुरस्कृत हुनेछन् । अन्तर्राष्ट्रिय स्टुडेन्ड सर्ट फिल्मका विजेताले ‘बेस्ट स्टुडेन्ड फिल्म अवार्ड’ को ट्रफी पाउनेछन् ।

राष्ट्रिय सर्ट फिल्म विधाका विजेताले ‘सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड’ मार्फत् पचास हजार (५०,०००) रुपैयाँ नगद र ट्रफी पाउनेछन् ।

त्यस्तै, राष्ट्रिय डुकुमेन्ट्री विधाका विजेताले ‘वेस्ट नेस्नल डकुमेन्ट्री’ अवार्डको ट्रफीसहित पचास हजार (५०,०००) रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन् । राष्ट्रिय फिचर चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री ,पटकथा लेखक, छायाँकार चाहिँ ट्रफीले पुरस्कृत हुनेछन् ।