01/18/2026, 17:19:20
आइतबार, माघ ०४, २०८२

टिकट वितरणका लागि कांग्रेसको बैठक निरन्तर, भोलिसम्म टुंगो लाग्छ : महामन्त्री घिमिरे


काठमाडौँ, माघ ४ : प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सोमबार बेलुकासम्म १ सय ६५ निर्वाचन क्षेत्रकै उम्मेदवार तय गर्ने भएको छ ।

परिवर्तनलाई स्वीकार गर्ने, लोकप्रिय, योग्यता, क्षमता र स्थानीय तहमा उसको प्रभाव समेतलाई हेरेर उम्मेदवार छनोट हुने पार्टीका महामन्त्री गुरुराज घिमिरेले बताए ।

कांग्रेसको संसदीय बोर्डले सोमबारसम्म सम्पूर्ण टिकट वितरण सक्नेगरी छलफल सुरु गरेको छ । टिकट वितरणका लागि प्रदेशस्तरमा समूह बनाएर यसअघि जिल्लाबाट आएको सिफारिस भएर आएका सूचीमाथि छलफल केन्द्रित छ । महामन्त्री घिमिरेले कतिपय स्थानमा तलबाट सिफारिस हुँदा विवादपूर्ण रुपमा भएकाले त्यस्ता ठाउँमा बाहिरबाट समेत उम्मेदवार चयन हुने सक्ने बताए ।

कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र बृहत् एकताका लागि पूर्वसभापति शेरबहादुर देउवासँग समय मागेपनि अहिलेसम्म भेटवार्ता हुन सकेको छैन । थापा र शर्माले शुक्रबार बेलुका नै भेट्न जान चाहेका थिए । तर, देउवाले पछि खबर पठाउने जवाफ फर्काए ।

पूर्वउपसभापति पूर्णबहादुर खड्का  र नेता शेखर कोइरालासँग पनि थापा र शर्माले भेट्ने जिम्मा लिएका छन् । ‘पार्टीभित्रको बृहत् एकताका लागि उहाँहरु आफैले मुख्य तीन नेतासँग भेटेर कुराकानी गर्नुहुनेछ । उम्मेदवार छनोटमा आम नागरिकका बीच लोकप्रिय, क्षमतावान् र जनजीवनमा भिजेको मान्छे जुनसुकै समूहका भए पनि टिकट वितरण गर्ने मापदण्ड बनाइएको छ,’ अर्का एक पदाधिकारीले भने ।

नेता शेखर कोइराला पक्षका नेताहरुले देउवा पक्षसँग नगई मूल धारमा रहने बताएका छन् । रुख र चारतारे झन्डा भएकै ठाउँमा रहने भन्दै चुनावमा समेत भाग लिने निष्कर्षमा उनीहरु पुगेका छन् । आजै कोइरालाले आफ्नो समूहका नेता तथा शुभेच्छुहरुसँग बानेश्वरमा छलफल जारी राखेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा  नेतृत्वको केन्द्रीय कार्यसमितिले वैधानिकता पाएपछि पूर्वसभपाति शेरबहादुर देउवा पक्ष भने निर्वाचनमा सहभागी हुने वा नहुनेबारे निर्णय लिएको छैन । व्यक्तिगत तहमा कतिपय नेताहरुले चुनाव नलड्ने उद्घोष गरिरहेका छन् ।

देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायार गरेका छन् । उम्मेदवार मनोनयनकै दिन माघ ६ गतेलाई पेसी तोकिएकाले देउवा पक्षीय नेताहरु उम्मेदवार मनोनयनका लागि समय सार्न आयोगलाई दबाव दिइरहेका छन् ।