01/18/2026, 16:01:08
आइतबार, माघ ०४, २०८२

कांग्रेसको टिकटमा हस्ताक्षर गर्ने अख्तियारी गगनलाई, रास्वपाको डीपीबाट रविमा सर्‍यो


काठमाडौं, माघ ४ गते । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रतिनिधिसभा उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षरको अख्तियारी हेरफेर भएको छ ।

निर्वाचन आयोगको आइबारको बैठकले आगामी निर्वाचनमा उम्मेदवारको टिकटमा आधिकारिक हस्ताक्षरको अख्तियारी कांग्रेसमा पार्टीका सभापति शेरबहादुर देउवाबाट विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई दिने निर्णय गरेको छ ।

यस्तै रास्वपामा पनि पार्टी सभापति रवि लामिछाने यसअघि पुर्पक्षमा थुनामा रहेका कारण उपसभापति डीपी अर्यालले पाएको अख्तियारी परिवर्तन गर्दै रवि लामिछानेकोमा सारिएको छ ।

जसपामा उपेन्द्र यादव र महन्थ ठाकुरलाई उम्मेदवार मनोनयनको आधिकारिक पत्र प्रदान गर्ने अधिकार दिने आयोगले निर्णय गरेको छ । निर्वाचन आयोग उच्च स्रोतका अनुसार सम्बन्धित दलको निर्णयपछि आयोगमा पेश भएको प्रस्तावका आधारमा उम्मेदवार मनोनयनमा हस्ताक्षर गर्ने पदाधिकारी परिवर्तन गरिएको हो । आयोगले उक्त परिवर्तनलाई वैधानिक ठहर गर्दै सम्बन्धित ७७ वटै निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै जानकारी समेत गराइसकेको छ ।

आयोगका अनुसार नेपाली कांग्रेसको माघ १ गते बसेको केन्द्रीय समिति बैठकले यस अघि पार्टी सभापति देउवालाई यस अघि दिइएको अख्तियारी परवर्तन गरेर विशेष महाधिवेशनबाट सभापति चयन भएको गगनकुमार थापालाई दिने निर्णय भएको हो ।

रास्वपाको भने गत पुस २२ गतेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार यस अघि पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई अख्तियारी दिइएकोमा परिवर्तन गरेर पार्टी सभापति रवि लामिछानेलाई अख्तियारी दिने निर्णय भएको पत्र शनिबार आयोगलाई बुझाएको थियो ।

यस्तै जसपाले पनि माघ १ गतेकै केन्द्रीय समिति बैठकको निर्णयबाट यसअघि उपेन्द्र यादवलाई दिइएको अख्तियारी परिवर्तन गर्दै महन्थ ठाकुर र उपेन्द्र यादव गरेर दुई नेतालाई दिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १९ बमोजिम आगामी निर्वाचनमा मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार परिवर्तन गरिएको आयोग उच्च स्रोतले जनाएको छ ।

आयोगका अनुसार अब ती दलका तर्फबाट उम्मेदवार मनोनयनसम्बन्धी सबै आधिकारिक पत्र परिवर्तित पदाधिकारीको दस्तखतबाट मात्रै मान्य हुनेछन् । यसअघि भएका हस्ताक्षर वा पुराना अधिकार प्रयोग गरेर बुझाइएका कागजात अमान्य हुने आयोगले जनाएको छ ।

आयोगले यस निर्णयको प्रतिलिपि सबै जिल्ला निर्वाचन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयलाई पठाइसकेको छ । साथै, निर्वाचन प्रक्रियामा कुनै अन्योल नहोस् भन्नका लागि राजनीतिक दललाई समेत विधि, विधान र आयोगको निर्देशन पालना गर्न आग्रह गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..