
काठमाडौँ, माघ ४ गते । डिसेम्बरको कलेजको छुट्टीमा हाम्रो छोरा तिन हप्ताका लागि घर आयो । छोरासँगै घरमा रौनक पनि आयो र बाक्लियो घरमा उसका साथीहरूको आवतजावत । साथै, उसका साथीहरू र उनीहरूका आमाबाबुसँगको हाम्रो जमघट पनि । अनि त्यससँगै सुरु भयो जिस्केर आमाबाबुहरूप्रति लक्षित जेनेरेसन ग्यापसँग सम्बन्धित जोकहरूको तीर । यी जोकहरू भित्तैमा पुर्याउनेखालका कडा थिए– पूर्ण रूपमा सत्य र अत्यन्तै हास्यास्पद । मिलेनियल र जेन–जीको भाषामा ‘स्याभेज’ । हामी हाँस्यौँ, मज्जाले हाँस्यौँ ।
अहिलेको पुस्ता हाम्रो र हामीभन्दा अघिका पुस्ताजस्तो ‘रेभेनेरेन्सियल’ छैन । रेभेनेरेन्सियल शब्दको चुरो निकाल्ने सही नेपाली शब्दको अल्पज्ञानका कारण यही शब्द प्रयोग गरेँ । शब्दकोशले यसको अर्थ अत्यन्तै आदरपूर्वक, श्रद्धापूर्वक, भक्तिपूर्वक भन्छ । तर, रेभेनेरेन्सियल नहुँदैमा अनादर गरिएको पनि हुँदैन । मेरो छोराको पुस्ता त्यस्तै छ ।
हाम्रो जमानामा आमाबाबुको जोक बनाउने र उनीहरूलाई सुनाउने वा उनीहरूले भनेका कुरामा विवाद गर्ने कुरा लगभग असम्भव थियो । उदारवादी परिवारहरूमा आफ्नै परिवार मात्र भएको बेला यस्तो सम्भव भए पनि समाजको अगाडि यो स्वीकार्य हुन्थेन । यस्तो व्यवहारलाई अनादरपूर्ण व्यवहारको रूपमा लिइन्थ्यो । अहिले यो व्यवहार निकै सामान्य भइसक्यो । सायद अहिलेका किशोर र युवापुस्ताका आमाबाबुहरू जेन–एक्स पुस्ता भएर होला ।
हाम्रो जेन–एक्स पुस्ताको आफ्नै कहानी छ । यो पुस्ता हुर्किंदाको नेपाली समाज र अहिलेको नेपाली समाजमा आकाश–जमिनको फरक छ । हामी जन्मँदा र हुर्कंदा नेपालीहरूले अन्य समाजहरूको जीवनशैली खासै देख्न पाएका थिएनौँ । संसार चियाउने माध्यम भनेको पुस्तक, पत्रपत्रिका, कमिक बुक्स र रेडियो मात्र थिए । त्यसैले बाबुआमाहरू र शिक्षकले जे सिकाए, जे पढाए, त्यही मानिन्थ्यो । डर र अदबमा बसिन्थ्यो । यो जेनेरेसन परिपक्व हुँदै जाँदा टेलिभिजन, इन्टरनेट र सामाजिक सञ्जालमार्फत नयाँ संस्कृति, विचार र सूचनासँगको पहुँच बढ्दै गयो । मानिसहरूले बाहिरी संसारको दृष्टिकोण बुझ्न थाले । सन्तुलित र सक्षम छोराछोरी हुर्काउने नयाँ शैली बुझ्न थाले ।
सँगसँगै त्यही समय र त्यसपछि जन्मिएका मिलेनियल र जेन–जी पुस्ताहरूले पनि अभिव्यक्ति र वैयक्तिक स्वतन्त्रताको संस्कृतिमाझ हुर्किन पाए । बाबुआमा र आफूभन्दा ठूलासँग वैचारिक बहस गर्नु अनादर गर्नु होइन, हँसिमजाक गर्नु पनि अनादर गर्नु होइन । यो कुरा उनीहरूले बुझे । उनीहरूले सामाजिक अपेक्षाका कारण देखाइने आदर र वैयक्तिक मूल्य मान्यताबाट प्रेरित आदरको बीचको भिन्नता बुझे । उनीहरूका साथसाथै हाम्रो पुस्ताले पनि केही हदसम्म बुझ्यौँ, बुझ्न बाध्य भयौँ । त्यसैले पहिला आफ्ना बाबुआमा र ठूलाबडाहरूसँग डराएर हुर्केको हाम्रो पुस्ता आफ्ना सन्तानहरूसँग मित्रवत् सम्बन्ध राख्ने कोसिसमा छौँ । आफ्नो अघिल्लो पुस्ता र आफूबीचको जस्तो जेनेरेसन ग्याप नहोस् भन्ने कोसिसमा छौँ ।
मलाई लाग्थ्यो– मेरो सन्तान र मबीच एकदम कम जेनेरेसन ग्याप हुनेछ, किनकि म अहिलेको जमानाको प्यारेन्टिङ शैलीबारे सचेत छु । मैले आफ्नो छोरालाई सानैदेखि सही र गलत छुट्याउने र आफ्नो जीवनका महत्त्वपूर्ण निर्णयहरू लिने सन्दर्भमा स्वायत्त हुन सिकाएकी छु ।
उनीहरूको पुस्ताको सोचबारे लेखिएका पुस्तकहरू पढेकी छु । बिनाकुनै पूर्वाग्रहका साथ उनीहरूको काम र व्यवहार बुझ्ने प्रयास गरेकी छु । केही गर्न आदेश दिनुको साटो दोहोरो संवाद गर्ने र कुनै गल्ती गर्दा गाली गर्नेभन्दा उनीहरूले जे गरे, त्यो किन ठीक थिएन भन्ने तार्किक बहस गर्ने प्रयास गरेकी छु । आफूले सोच्दा हरेक हिसाबले आफूलाई समयअनुसार ढालेकी छु ।
म सोच्थेँ– म र मेरो छोरा अनि उसको पुस्ताबीच कुनै अन्तरपुस्ता खाडल हुने छैन । म त ‘कुल मम्’ हुँ ।जति नै ‘कुल’ बन्ने कोसिस गरे पनि आमाबाबु र छोराछोरीको पुस्ताबीचको यो जेनेरेसन ग्याप् कहिल्यै हट्दैन । किनकि समयको बहाव र परिवर्तनसँगै हरेक पुस्ताको भाषा, सोच र सपना परिष्कृत हुँदै जान्छन् । हरेक पुस्ताको आफ्नै छलाङ र आफ्नै उडान हुन्छ ।
तर, सोचेको जस्तो कहाँ हुँदो रहेछ र ? म उनीहरूको मिम हेर्न र पढ्न सक्छु तर त्यसको लक्षित अर्थ बुझ्न धेरैजसो उसलाई सोध्नुपर्छ । उनीहरूको धेरै जोकको सार नबुझेर त्यसलाई बुझाइदेऊ भन्नुपर्छ । उनीहरूका अगाडि अहिलेको जमानाको पपगीत सुने पनि एकान्तमा आफ्नै जमानाको गीत गुनगुनाउँछु । आजकलको गीतसंगीतको न सुर मनपर्छ, न ताल नै । न भाव बुझ्छु न शैली नै । भन्दिनँ भन्दाभन्दै पनि ऊसँग कुरा गर्दा मुखबाट ‘हाम्रो जमानामा यस्तो…’ भन्ने झरिहाल्छ ।
मैले जतिसुकै प्रयास गरे पनि मेरो छोरा र मबीच जेनेरेसन ग्याप नमेटिने रहेछ ।
अहिलेको पुस्ताले प्रयोग गर्ने स्ल्याङ र मिमका बारेमा जानकारी राख्दैमा, नयाँ पुस्ताले पछ्याउने इन्फ्लुएन्सर र गीतसंगीतका बारेमा सुसूचित हुँदैमा उनीहरूलाई कहाँ बुझिँदोरहेछ र ? जसरी भाषाको ज्ञान हुँदैमा मात्र कुराको अर्थ सबैले बुझ्दैनन्, त्यसरी नै केवल नयाँ स्ल्याङ, मिम र ट्रेन्डहरू बुझेर मात्र नयाँ पुस्तालाई बुझ्न कहाँ सकिन्छ र ? आखिर हरेक पुस्ताको आफ्नै पपकल्चर, आफ्नै भाषा र ताल हुन्छ । कम्युटरको कोडजस्तै जटिल ।
अहिलेका किशोर/किशोरीहरू, युवाहरू टेक्नोलोजीमा अत्यन्तै निर्भर छन् । पढाइदेखि मनोरञ्जन सबै मोबाइल फोन र कम्प्युटरमै हुन्छ । ल्यान्डलाइन फोनको जमानामा हुर्केको, बीस वर्ष कटेपछि कम्प्युटर देखेको म, छोरा र उसको पुस्ताको मोबाइलमाथिको निर्भरता र सामाजिक सञ्जालप्रतिको मोहलाई लत सम्झन्छु । ऊ मेरो सोचलाई पुरातन ठान्छ ।
हुन पनि मैले जति नै कोसिस गरे पनि उनीहरूको सोच, उनीहरूको आकांक्षा, उनीहरूको चिन्ता कहाँ महसुस गर्न सक्छु र ? मेरो बेलाको संसार फरक थियो । अहिलेभन्दा धेरै सरल र सहज, धेरै सहिष्णु । सानो कुवामा हुर्केको म, मेरो सपनाहरूका दायरा साना थिए, मेरो आकांक्षा सीमित र मेरा चुनौतीहरू सजिलै सम्हाल्न सकिने । मेरो छोराको संसार ठूलो छ, जटिल छ, असहिष्णु छ । असंख्य अवसरहरू छन् तर अत्यधिक प्रतिस्पर्धा पनि । सूचना र प्रविधिको पहुँचले संसार देखेको उसका सपनाहरू विशाल छन् र आकांक्षाहरू असीमित । उसका चुनौतीहरू कठिन छन् र भविष्यकोअनिश्चितताप्रति अनेकन चिन्ता पनि ।
ऊ सोच्छ– मेरो पुस्ताले उसको पुस्ताको पीडा बुझ्दैन । ऊ सोच्छ– मेरो पुस्ता अहिलेको समयको यथार्थभन्दा धेरै पर छ । ऊ सोच्छ– मेरो पुस्ता रुढिवादी परम्परालाई नै मूल्य–मान्यता भन्ठान्छ । ऊ सोच्छ– मेरो पुस्ता परम्परावादी सोचभन्दा पर जान सक्दैन । त्यसैले ऊ सोच्छ– मेरो पुस्ताले समय र प्रविधिले प्रदान गरेको अथाह अवसरहरू र अनन्त सम्भावनाहरूको गहिराइ बुझ्न सक्दैन ।
उसले उसको पुस्ताले मेरो पुस्ताबारे राख्ने धारणा सुनाउँदै गर्दा म आफ्नो विगतमा पुग्छु, जब म र मेरा साथीहरू आफ्ना बाबुआमाबारे पनि यस्तै धारणा राख्थ्यौँ । बाबुआमासँगको हरेक कुराकानी ‘तपाईंहरू बुझ्नु हुन्न’बाट अन्त्य गर्थ्यौं । अनि म बुझ्छु, जति नै ‘कुल’ बन्ने कोसिस गरे पनि आमाबाबु र छोराछोरीको पुस्ताबीचको यो जेनेरेसन ग्याप कहिल्यै हट्दैन । किनकि समयको बहाव र परिवर्तनसँगै हरेक पुस्ताको भाषा, सोच र सपना परिष्कृत हुँदै जान्छन् । हरेक पुस्ताको आफ्नै छलाङ र आफ्नै उडान हुन्छ ।
_कविता शेरचन
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















