01/11/2026, 18:57:28
आइतबार, पुष २७, २०८२

के बालेन ‘पपुलिस्ट’ हुन् ?


१ जेठ २०७९ को बिहान काठमाडौं महानगरपालिकाको मतगणना भर्खरै सुरु भएको थियो । मैले काम गर्ने संस्था ‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिज’ ले निर्वाचनका तथ्यांकलाई विभिन्न कोणबाट केलाउने काम गरिरहेको थियो । यही सन्दर्भमा पत्रकार राजेन्द्र बानियाँले हिमालय टीभीमा चलाउने कार्यक्रम यक्ष प्रश्नमा निर्वाचनको तथ्यांकीय विश्लेषण गर्न म निम्त्याइएको थिएँ ।

अन्तर्वार्ता रेकर्ड हुँदासम्म मेयर पदका उम्मेदवार बालेन शाहको मत २ हजारभन्दा कम थियो । निकटतम प्रतिद्वन्द्वी र उनको मतान्तर मात्र केही सय थियो ।

उक्त अन्तर्वार्तामा मैले इन्टरनेटको लोकप्रियता मतमा रूपान्तरण भए बालेनले चुनाव जित्ने भविष्यवाणी गरेको थिएँ । हामीले गुगल ट्रेन्डमार्फत मेयरका तीनै प्रत्यशीको अवस्था केलाएका थियौं । उम्मेदवारी घोषणासम्म पनि गुगल ट्रेन्डमा नसमेटिएका बालेनलाई चुनावको केही दिनअघि र मतदानको दिन अत्यधिक खोजिएको थियो । उक्त अनुमानको थप आधार मलाई केही समयअघि पढेको गुगलका डेटा साइन्टिस्ट सेथ स्टेफेन डाभिडोभिचद्वारा लिखित पुस्तक ‘एभ्रिवडी लाइज : विग डेटा, न्यु डेटा, ह्वाट इन्टरनेट क्यान टेल अस् अवाउट हु उई रियल्ली आर’ ले दिएको थियो ।

उक्त पुस्तकमा सन् २००८ को अमेरिकी राष्ट्रपति निर्वाचन बराक ओवामाले जित्ने आकलन यसरी नै गुगल ट्रेन्डको तथ्यांकका आधारमा गरिएको वर्णन छ । अनुमान अनुरूप नै कुनै पार्टी आधार नभएका, धेरै मानिसका लागि अपरिचित, एक युवा र्‍याप गायकले नेपालको सबैभन्दा शिक्षित, धनाढ्य र वर्चस्वशाली वर्ग बस्ने राजधानी सहरको मेयर पदमा बाजी मारे । राजधानीका उनै मेयर बालेन शाहलाई अहिले प्रभावशाली नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आगामी आमनिर्वाचनमा होमिने तयारी गरेको छ ।

‘पपुलिस्ट र पपुलिज्म’

पत्रकार सुधीर शर्माको युट्युब भिडियो ‘रवि बालेन : मिल्दा के हुन्छ’ का अनुसार, एक विदेशी दूतावासले गरेको मत सर्वेक्षणमा बालेन शाह यतिखेर नेपालभरकै सबैभन्दा रुचाइएका पात्र हुन् । उनको लोकप्रियता यति व्यापक छ कि मानिसहरू काठमाडौंलाई ‘बालेनसिटी’ भन्छन् । उनका फोटाहरू घरका भित्तादेखि सार्वजनिक सवारीसाधनसम्म जताततै भेटिन्छन् । सामाजिक सञ्जाल फेसबुकमा मात्रै उनलाई ३२ लाखभन्दा बढीले फलो गरेका छन् । यति लोकप्रिय बालेन कैयौं मानिसहरूले भनेझैं के ‘पपुलिस्ट’ राजनीतिज्ञ पनि हुन् त ?

ल्याटिन भाषामा ‘पपुलस’को अर्थ ‘द पिपल’ अर्थात् लोक भन्ने हुन्छन् । सन् १८९१ मा अमेरिकी केन्सास राज्यमा किसानहरूले सुरु गरेको आन्दोलनलाई ‘पपुलिस्ट’ भनिएको थियो । त्यसैको जगमा जन्मिएको थियो नयाँ दल — अमेरिकी पिपुल्स पार्टी । पार्टीको नाममै ‘जनता’ जोडिएकाले उक्त दललाई पपुलिस्ट पार्टी वा ‘पपुलिस्ट’ भनियो र उक्त शब्द राजनीतिमा स्थापित भयो । त्यस ‘पपुलिस्ट’ आन्दोलन रेलरोड मालिकहरूका एकाधिकार र बैंकहरूको चर्को ब्याजदरको विरोध गर्दै प्रत्यक्ष निर्वाचित सिनेटर, रेलवेको राष्ट्रियकरण र प्रगतिशील करको माग राखेर अघि बढेको थियो ।

त्यसपछिको निर्वाचनमा पपुलिस्ट पार्टीले राम्रै भोट ल्यायो, अमेरिकी कांग्रेसमा ८ सिट जित्न सफल पनि भयो । तर पछि डोमेक्र्याटिक पार्टीका राष्ट्रपतीय उम्मेदवारलाई समर्थन गरेपछि आन्तरिक कलहमा फसेर उक्त दल सेलाउँदै गयो र सन् १९०९ मा पूर्ण रूपमा विघटन हुन पुग्यो ।

इतिहासमा सम्भ्रान्त शासक र सर्वसाधारण जनताबीच स्पष्ट कित्ताकाट गर्दै गरिने राजनीतिलाई ‘पपुलिस्ट’ भनिएकाले होला, अहिले पनि आफूबाहेक सबैलाई भ्रष्ट करार गर्दै गरिने राजनीतिलाई ‘पपुलिज्म’ भनेर चिनिन्छ । ‘पपुलिस्ट’ राजनीतिज्ञहरू भ्रष्ट शासक, कर्मचारीतन्त्र, धनीमानीहरूको गठजोडले जनतामाथि गरिएको एकछत्र शासनलाई परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि आफूमात्रै उपयुक्त पात्र भएको दाबी गर्छन् । उनीहरूले आफ्ना समर्थकबाहेक अरूलाई धोकेवाज, चोर, फटाहा जस्ता शब्दले प्रहार गर्छन् ।

पपुलिस्ट’ दृष्टिकोणमा समाजमा या ‘असल जनता’ हुन्छन् या ‘खराब एलिट’ हुन्छन् । त्यहाँ कि त दुस्मन हुन्छ, कि त मित्र । बीचको जटिलता स्विकार्य हुँदैन । जसरी डोनाल्ड ट्रम्पले सन् २०१६ मा आफ्ना समर्थकलाई ‘साँचो जनता’ र अन्यलाई ‘महत्त्वहीन’ करार गरेका थिए । समाजलाई यसरी चरम ध्रुवीकृत गर्दै राजनीति गर्नु ‘पपुलिस्ट’ राजनीतिज्ञको अर्को काम हो ।

अक्सर ‘पपुलिस्ट’ नेताहरू परम्परागत पार्टी राजनीतिबाट होइन, तमासायुक्त चामत्कारिक (क्यारिस्म्याटिक सोम्यान) व्यक्तित्वको बलमा शक्तिमा पुगेका हुन्छन् । कुनै समय डोनाल्ड ट्रम्प टेलिभिजन कार्यक्रम सञ्चालक थिए भने इटालीका वेप्पे ग्रिलो स्टान्डअप कमेडियन थिए । विपक्षीविरुद्ध घृणा ओकल्नु, अपशब्द प्रयोग गर्नु, व्यक्तिगत आक्रमणमा उत्रनु र राजनीतिक शालीनताको अपहेलना गर्नु ‘पपुलिस्ट’ राजनीतिज्ञहरूको अर्को साझा विशेषता हो ।

पछिल्ला वर्षहरूमा संसारभर ‘पपुलिस्ट’ नेताहरूको उदय र फैलावटमा सामाजिक सञ्जाल निर्णायक बन्ने गरेको छ । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको कुर्सीमा बसेर ‘यदि म ट्विटरमा नहुँदो हो त सायद यहाँ पनि हुँदैन थिएँ’ भन्ने स्वीकारोक्तिले त्यसको पुष्टि गर्दछ । त्यसैगरी नरेन्द्र मोदीलाई संसारकै सबैभन्दा सफल फेसबुके राजनीतिज्ञ भनेर चिनिन्छ । मोदीमाथि आफ्ना विरोधीलाई तह लगाउन सामाजिक सञ्जालमा ट्रोल सेना प्रयोग गर्ने गरेको आरोप लाग्ने गर्छ ।

अक्सर ‘पपुलिस्ट’ नेताहरूले जटिल सामाजिक र राजनीतिक समस्यालाई अत्यन्त हलुका ढंगले प्रस्तुत गर्ने गर्दछन् । उनीहरूले समस्याको समाधानको संरचनागत खाका दिँदैनन् बरु भावनात्मक अपिलमार्फत समस्या समाधानमा आफू इमानदारिताका साथ लागिपरेको बताउँछन् । जस्तै भेनेजुएलाका हुगो चाभेजले गरिबलाई ‘सम्पत्ति वितरण गर्ने’ कुरा गर्थे भने, न्युयोर्कका मेयर जोहरान मम्दानीले न्युयोर्क सहरमा ‘सुपथ मूल्य पसल खोल्ने’ कुरा गरिरहेका छन् ।

‘पपुलिस्टपथ’ मा बालेन

विश्वभरका पपुलिस्ट राजनीतिज्ञहरूको चारित्रिक विशेषता, उदयको तौरतरिका र सार्वजनिक शैलीसँग बालेनका चारित्रिक विशेषता, उदय र सफलताको तरिका र शैलीलाई दाँजेर हेर्दा उनी ‘पपुलिस्ट’ राजनीतिज्ञ हुन् भन्नमा हिच्किचाउनु पर्दैन । नेपालको राजनीतिमा बालेनको उदय परम्परागत राजनीतिक दलमार्फत होइन, गीतसंगीतबाट कमाएको ख्यातिको आडमा भयो ।

देशको रक्षा गर्ने जति सबै….. छन्, नेता जति सबै चोर देश लुटी खान्छन्’ जस्ता उनका गीतमा नेता, कर्मचारी सबैलाई चोर र लुटेरा करार गरिएको पाइन्छ । उनले अरूमाथि यसरी आरोप मिश्रित आक्रोशमात्रै पोख्दैनन्, समस्याको समाधान आफूले मात्रै गर्न सक्ने दाबी पनि गर्छन् । २०७४ को निर्वाचनमा भोट नहालेको र अर्को निर्वाचनमा आफैंलाई भोट हाल्ने भन्दै उनले फेसबुकमा लेखेका थिए — ‘देश कसरी बनाउनुपर्छ भन्ने मलाई थाहा छ । म मेरो देश आफैं विकास गर्छु । मलाई अरू कसैको भर लाग्दैन’ (मे १४, २०१७) ।

ग्रेटर नेपालको नक्सा अफिसमा झुन्ड्याएका उनले नेपालको भूराजनीतिक जटिलताको समाधान प्रस्तुत नगरी सजिलै भावनात्मक कुरा लेखिदिन्छन् — ‘नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ?’ (अप्रिल ८, २०२३) । थप बालेनका ‘म त्यस्तै काठमाडौं पुनर्जीवित भएको देख्न चाहन्छु ।’ (सेतोपाटी जेठ ११, २०७९), ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ (डिसेम्बर २९, २०२५) जस्ता अमूर्त र छोटा वाक्यहरू सुन्दर हुने गर्छ तर काठमाडौं कसरी पुनर्जीवित हुन्छ ? वा नेपाल कसरी हाँस्ने देश बन्छ भन्ने ठोस रोडम्याप न त उनी दिन्छन्, न त त्यसबारे प्रश्न नै सोध्न दिन्छन् ।

आफू संस्थापनको हिस्सा भइसकेपछि पनि आफूलाई संस्थापनविरोधी नै ठानिरहनु ‘पपुलिस्ट’ नेताको अर्को विशेषता हो । अमेरिकामा ‘पर्खाल लगाउने’ कुरा र नेपालमा ‘सिंहदरबार जलाउने’ धम्की सुन्दा उस्तै लाग्दछन् ।

लोकतान्त्रिक राज्य सञ्चालनका लागि स्थापित संस्थानहरू जस्तै : अदालत, मिडिया, प्रशासनप्रतिको अविश्वास ‘पपुलिस्ट’हरूको अर्को साझा गुण हो । उनीहरूलाई अरूको विषयगत विज्ञता र प्रमाणप्रति खासै चासो हुँदैन । बालेनले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतप्रति गरेको त्यस्तै अविश्वासपूर्ण व्यवहारले यही प्रवृत्ति उजागार गर्दछ ।

असन्तोषको खेतबारी

नेपाल आज एकैसाथ चार शताब्दीका चुनौती बोकेर उभिएको छ । विकसित देशमा २० औं शताब्दीमै लगभग निर्मूल भइसकेको छुवाछूत (कुनैबेला अमेरिकामा काला मानिसहरूले बसमा यात्रा गर्दा उनीहरूलाई छुट्याइएको पछिल्लो सिटमा मात्रै बस्न पर्दथ्यो), यहाँ अझै जब्बर छ । हाम्रो कृषि र औद्योगिक उत्पादकत्व अझै पनि विकसित देशहरूका तीन शताब्दीअघिको स्तरमै छ ।

मानव संसाधनको विकास हेर्दा हाम्रा विश्वविद्यालयहरू ज्ञान उत्पादन र नवप्रवर्तनमा धेरै पछाडि छन् । विकसित देशमा १९ औं शताब्दीमा भएका जस्ता प्रयोगशाला, पुस्तकालय र विश्वविद्यालयको संरचना यहाँ अझै छैनन् । त्यसरी प्रगतिको गतिमा पछि परेको देश अहिले सूचना प्रविधि, सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्सले ल्याएको चुनौतीलाई पनि एकसाथ भोग्न बाध्य छ । यस्ता तमाम समस्याहरूलाई समाधान गर्न नसकेर देश उन्नतिको पुछारमा पुगेको छ । त्यसले समाजमाव्यापक आक्रोश र असन्तुष्टि पैदा गरेको छ ।

संसारभर ‘पपुलिज्म’को बालीनाली असन्तोष र आक्रोशको खेतबारीमा फस्टाउँछ । यतिखेर बालेन शाहहरू त्यसैको खेतीपाती गर्न लागेका छन् । उनीहरूसँग अहिले पुराना पार्टी र त्यसका नेताहरूले देशलाई भड्खालोमा हाले, तिनीहरू अक्षम र भ्रष्ट भएकाले नै देश अविकासको दुश्चक्रमा फसेको हो भन्ने बिकाउ संकथन छ, भलै उक्त संकथन सत्य/असत्य जेजस्तो भए पनि । तर पुराना राजनीतिक दल र नेताहरूसँग यतिखेर यथास्थितिको रक्षा र प्रतिवाद गर्नुबाहेक कुनै संकथन बाँकी छैन ।

एक अन्तर्वार्तामा गगन थापाले भनेका थिए, ‘यतिखेर हामीसँग जनतालाई देखाउन आशा नै बाँकी छैन । हिजो पञ्चायत हुँदा यसलाई फालेपछि ठीक हुन्छ भनेर आशा देखाउन सकिन्थ्यो । राजतन्त्र फालेपछि, शान्ति स्थापनापछि सबै ठीकठाक हुन्छ भनेर आशा देखाउन सकिन्थ्यो । तर गणतन्त्र स्थापना र शान्ति कायम भएको यतिका वर्षसम्म पनि हामीले गर्न नसकेपछि अब के भनेर आशा देखाउने ?’ प्रतिस्पर्धाको राजनीतिमा जनताबीचमा जाँदा व्याख्या नहुनुभन्दा हुनुले ठूलो अर्थ राख्दछ, चाहे त्यो व्याख्या गलत नै किन नहोस् ।

अन्त्यमा, जेन–जी विद्रोह र त्योसँगै जोडिएको विध्वंसको चर्को मूल्य चुकाएर देश निर्वाचनमा होमिएको छ । निर्वाचनमा बालेन शाह भावी प्रधानमन्त्रीका रूपमा खडा भएका छन् । उनले यथास्थितिमा रुमल्लिएको देशलाई ‘हाँस्न सक्ने’ बनाउने ‘पपुलिस्ट’ उपचार विधि लिएर आएका छन् । बालेन प्रधानमन्त्री बन्छन् या बन्दैनन् त्यो अलग कुरा हो तर यथास्थितिको रोग निको पार्न प्रयोग हुन लागेको ‘पपुलिज्म’को उपचारले देशलाई निको पार्ला कि झनै कमजोर बनाउला ? कहिलेकाहीँ गलत उपचारले रोगले भन्दा बढी शरीरलाई दुःख दिने गर्दछ ।

– उत्तमबाबु श्रेष्ठ