01/18/2026, 12:59:28
आइतबार, माघ ०४, २०८२

सप्तरी २ बाट उम्मेदवारी दिने पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहको घोषणा


कल्याणपुर (सप्तरी), माघ ४ गते । प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो ।

राजनीतिमा लामो समयदेखि सक्रिय रहनुभएका सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

स्थानीय सरकारको नेतृत्व गर्दै विकास र सुशासनका क्षेत्रमा काम गर्नुभएको सिंह २०७९ सालको स्थानीय तह निर्वाचनमा भने पुनः अध्यक्ष पदमा पराजित हुनुभयो ।

स्थानीय तहको निर्वाचनमा पराजयपछि उहाँ प्रदेशसभा निर्वाचनमा जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बन्नुभएको थियो । उक्त निर्वाचनमा विजयी भएसँगै उहाँ मधेश प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल हुनुभयो ।

मुख्यमन्त्रीका रूपमा रहँदा उहाँले मधेशको विकास, समावेशिता, सुशासन र अधिकारको सवाललाई प्राथमिकतामा राखेर काम गरेको दाबी उहाँले दावी गर्नुभयो ।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै सिंहले सप्तरी र मधेशको समग्र विकास, नागरिकका हकअधिकार तथा पहिचानको सवाललाई राष्ट्रिय स्तरमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँको उम्मेदवारी घोषणासँगै सप्तरी–२ को राजनीतिक माहोल थप सक्रिय बन्न थालेको छ ।

– विनय कर्ण