काठमाडौँ, माघ ४ : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लाग्ने क्रम अन्तिम चरणमा पुगेको छ ।
माघ ६ गते मनोनयन दर्ता गर्नुपर्ने भएकाले दलहरु नाम टुंग्याउन व्यस्त छन् भने कतिपय निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम टुंगिइसकेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपाले) ५० प्रतिशत युवा उम्मेदवार बन्ने दाबी गरेको छ । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने भएको छ ।
नेकपा नेता वर्षमान पुनले सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष उम्मेदवार बनाइने बताए । नेकपाले यस पटक कम्तीमा ५० प्रतिशत युवा उम्मेदवार बनाउने उनले जानकारी दिए । ‘यस पटक ५० प्रतिशत युवा उम्मेदवार पुर्याइनेछ,’ उनले भने, ‘एकभन्दा बढी उम्मेदवार भएका क्षेत्रमा छलफलबाट सहमति निकालिनेछ ।’
नेकपाका अर्का नेता बेदुराम भुसालले एकल सिफारिस भएका र एकभन्दा बढी भएका क्षेत्रका उम्मेदवारलाई टिकट वितरण थालिएको बताए ।
नेकपा संयोजक पुष्पकमल दाहाल रुकुम पूर्व र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार हुने निश्चित भएको छ । गत आम निर्वाचनमा दाहाल गोरखा–२ बाट र नेपाल रौतहट–१ बाट विजयी भएका थिए । दाहाललाई नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, रुकुमपूर्व र कैलाली–३ बाट प्रतिनिधिसभाका लागि सिफारिस गरिएको थियो ।
नेकपाका अन्य नेताहरू नारायणकाजी श्रेष्ठ सर्लाही–३, वामदेव गौतम बर्दिया–१ बाट उम्मेदवार हुने निश्चित जस्तै छ । एमाले पूर्वउपाध्यक्ष एवं नेता भीम रावल अछाम–१ बाट उम्मेदवार हुने निश्चित छ । नेता वर्षमान पुन रोल्पाबाट उम्मेदवार हुने भएका छन् । त्यस्तै, प्रकाश ज्वाला पुरानै स्थान सल्यानबाट उम्मेदवार हुने भएका छन् । पुन र ज्वालाले गत निर्वाचनमा ती क्षेत्रबाट जितेका थिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चितवन–३ मा नेकपाबाट उम्मेदवार बन्ने तयारी छ । संयोजक दाहाल–पुत्री उनले मेयरबाट राजीनामा दिएर उम्मेदवार दिने तयारी गरेकी छन् । २०७४ को निर्वाचनमा त्यही क्षेत्रबाट संयोजक दाहाल विजयी भएका थिए । दाहालकी बुहारी बिना मगर कञ्चनपुर–१ बाट उठ्ने निश्चित छ ।
नागरिक उन्मुक्तिबाट एकता भई नेकपामा आएका लालवीर चौधरी बर्दिया–२, राष्ट्रिय मुक्ति पार्टीबाट समाहित भएका अभियन्ता सुमन सायमी काठमाडौं–८ बाट उठ्ने तयारी छ । झापा–५ मा ओलीको क्षेत्रमा नेकपाले अखिलका पूर्वअध्यक्ष रञ्जित तामाङ, जुम्लामा नरेश भण्डारी, कैलाली–५ मा प्रेम आले, बाजुरामा प्रकाश शाह, डोल्पामा धनबहादुर बुढालाई टिकट दिएको थियो ।
त्यस्तै पवर्तबाट मनहरि तिम्सेना, सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा र सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल उम्मेदवार हुने भएका छन् । दोलखाबाट विशाल खड्का, सिन्धुली–२ बाट राजन दाहाल, ललितपुर–३ बाट राजकाजी महर्जन, भक्तपुर–२ बाट रामप्रसाद सापकोटा, रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने निश्चित छ । त्यस्तै गोरखा–१ बाट हरिराज अधिकारी र गोरखा–२ बाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले टिकट पाएका छन् । नेता देव गुरुङ लमजुङबाट सिफारिस भएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








