01/18/2026, 13:09:50
आइतबार, माघ ०४, २०८२

सिरियामा अल कायदाका एक नेता मारिए


दमास्कस, माघ ४ गते । सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहसँग प्रत्यक्ष सम्बन्ध भएको अल कायदाका एक नेता मारिएका छन् । उनी सिरियामा तीन अमेरिकीहरूलाई मार्ने गरी हालिएको एम्बुसको लागि जिम्मेवार रहेको बताइएको छ ।

शुक्रबार उत्तर पश्चिम सिरियामा भएको आक्रमणमा बिलाल हसन अल–जसिम मारिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले एक विज्ञप्तिमा भनेको छ । उनी अमेरिकी र सिरियाली कर्मचारीहरूलाई मार्ने र घाइते बनाउने आईएस समूहको बन्दुकधारीसँग प्रत्यक्ष सम्बन्धित रहेको विज्ञप्तिमा भनिएको छ । अमेरिकी दाबीको बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गरेको छैन ।

अमेरिकी नागरिक र लडाकुहरूमाथि आक्रमण गर्ने, षड्यन्त्र रच्ने वा प्रेरित गर्नेहरूका लागि कुनै ठाउँ सुरक्षित नभएको र व्यक्तिलाई आफूले जसरी पनि खोज्ने सेन्ट कमका कमान्डर एडम ब्राड कूपरले बताएका छन् । सन् २०२५ को डिसेम्बर १३ मा मध्य सिरियाको पालमिरामा तीन अमेरिकीको मृत्यु भएदेखि अमेरिकाले सिरियामा आईएसका ठेगानाहरूलाई निशाना बनाएर व्यापक आक्रमण गरिरहेको छ ।

यो अपरेसन हकआई स्ट्राइक नाम दिइएको छ । सेन्टकमका अनुसार यो मिसनमा अमेरिकाले २०० सटीक हतियार प्रयोग गरेर आईएसका १०० भन्दा बढी पूर्वाधार र हतियार ठेगानामा निशाना बनाइसकेको छ । यो महिनाको सुरुमा सेन्टकमले २० डिसेम्बर र २९ डिसेम्बर बिच ११ अभियानहरूमा आईएस समूहका करिब २५ जना सदस्यहरूलाई मारेको वा कब्जा गरेको बताएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..