काठमाडौँ, माघ ४ : निर्वाचनमा साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न सरकारले प्रहरीको साइबर अपराध नियन्त्रण टोली पनि खटाउने भएको छ ।
डिजिटल प्लेटफर्म को दुरुपयोग गरी अफवाह फैलिन नदिन यो संयन्त्र परिचालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह प्रवक्ता आनन्द काफ्लेले तथ्यहीन सूचना, अफवाह र भ्रामक प्रचार–प्रसार, सामाजिक सञ्जालमा हुने साइबर अपराध, ह्याकिङ, फेक अकाउन्ट र डिजिटल धाँधली नियन्त्रण एवं मतदाताको गोपनीयता, डिजिटल सुरक्षा र शान्तिपूर्ण निर्वाचन प्रक्रिया सुनिश्चित गर्न साइबर प्रहरी परिचालन गर्न लागिएको बताए । उनले भने, ‘केन्द्रीय कमाण्ड पोस्ट, निर्वाचन आयोग र केन्द्रीय निर्वाचन सेलसँग समन्वय गर्न उपत्यका प्रहरी कार्यालयमा साइबर ब्युरोबाट निर्वाचन साइबर प्रहरी कर्मचारीहरू खटाइनेछ ।’

गृह प्रवक्ता काफ्लेका अनुसार प्रत्येक प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि साइबर प्रहरी परिचालन हुनेछन् । साइबर प्रहरीले निर्वाचनसँग सम्बन्धित साइबर गतिविधिहरूको निगरानी, विश्लेषण गरी आवश्यक कारबाहीका लागि निर्देशन, सिफारिस तथा अनुसन्धान गर्न सक्ने कार्यादेश तोकिएको छ ।
यसैगरी सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना नियन्त्रण गर्न निर्वाचन आयोगमा रहने गरी नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोको विशेष टोली पनि खटाउन लागिएको छ । यस टोलीलाई डिजिटल प्लेटफर्म र अनलाइन माध्यममा आएका सामग्रीको विश्लेषण र अनुसन्धान गर्न सक्ने अधिकार दिइएको छ । साइबर प्रहरीका रूपमा खटाइने जनशक्तिको संख्या केही दिनभित्रै प्रहरी प्रधान कार्यालयले टुंगो लगाएर निर्वाचन आयोगलाई जानकारी गराउनेछ ।
– मातृका दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












