01/07/2026, 23:49:27
बुधबार, पुष २३, २०८२

एक्सको ग्रोकमा बिकिनी ट्रेन्ड : सेलेब्रिटीदेखि नेताका अर्धनग्न तस्बिरसम्म


काठमाडौँ, पुस २२ : एक्समा महिला सेलेब्रिटीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भर्खरै अमेरिकाले नियन्त्रणमा लिएको भेनेजुयेलाका राष्ट्रपति निकोलस मदुरोजस्ता नेताहरूलाई समेत बिकिनी पहिर्‍याउने र अर्धनग्न तस्बिर सार्वजनिक गर्ने गरिएको छ ।

कुनै समय छिटो र खुला सार्वजनिक संवादका लागि परिचित रहेको सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्वीटर) अहिले ग्रोकका कारण आलोचनाको घेरामा छ । विश्वकै धनाढ्य इलन मस्कको स्वामित्वमा रहेको एक्स र उनको कम्पनी एक्सएआईले विकास गरेको ‘ग्रोक’ मा ‘इमेज एडिट’ फिचर थपिएको थियो । यसको दुरुपयोग गर्दै प्रयोगकर्ताहरूले महिला, सेलेब्रेटी, बालबालिका र आम प्रयोगकर्ताका तस्बिर अपलोड गर्दै ‘यसलाई बिकिनी लगाइदेऊ’ वा ‘लुगा हटाइदेऊ’ जस्ता आपत्तिजनक कमान्ड दिएर अर्धनग्न बनाउन थाले । ग्रोकले त्यस्ता कमान्ड अस्वीकार गर्नुको सट्टा पालना गरिदिएपछि विवाद चुलिएको हो ।

मस्ककै एक छोराकी आमासमेत भनिने राजनीतिक विश्लेषक एवं लेखक एस्ली सेन्ट क्लेयरका अनुसार ग्रोकले उनी १४ वर्षको हुँदा खिचिएको तस्बिरलाई यौनजन्य र आपत्तिजनक बनाइदिएको भन्दै उजुरी दिएकी छन् । उनले एक्समा लामो पोस्ट गर्दै ग्रोकले प्रयोगकर्ताहरूको ‘अनड्रेस’ अर्थात कपडा हटाउने कमान्ड पालना गर्दै उनको बाल्यकालको तस्बिरबाट बिकिनी लगाएका तस्बिरहरू सिर्जना गरेको दाबी गरेकी छिन् । यस घटनापछि आफू आतङ्कित र गम्भीर रूपमा अपमानित महसुस गरेको उनले बताएकी छन् ।

एक्सले अश्लील एआई सामग्री रोक्न प्लाटफर्मस्तरीय सुरक्षामा गम्भीर लापर्बाही गरेको नियामक निकाय र विज्ञहरूको टिप्पणी छ । दुरुपयोगको स्तरबारे भएका प्रारम्भिक अनुसन्धानले यो समस्या प्रयोगकर्ताको तहमा मात्र सीमित नरहेको रोयटर्सले उल्लेख गरेको छ । यकिन संख्या सार्वजनिक नगरिए पनि नियामक दस्तावेज र भित्री स्रोतलाई उद्धृत गर्दै बीबीसी र रोयटर्समा प्रकाशित समाचारअनुसार डिसेम्बरको अन्त्यदेखि दैनिक हजारौँको संख्यामा यस्ता अनुरोधहरू गरिएका छन् ।

एक्समै पोस्ट भएका कतिपय गुनासोमा महिलाका तस्बिरहरू यौनिक रूपमा परिमार्जन गरिनुका साथै केही अवस्थामा नाबालिकाका तस्बिरहरूलाई समेत आपत्तिजनक दृश्यमा रूपान्तरण गरिएको छ । नयाँ वर्ष आसपास यस्ता अनुरोधको मात्रा झनै बढेको र प्रयोगकर्ताले स्क्रिनसट सेयर गर्दै गर्दै यो प्रवृत्तिलाई फैलाएको सीएनबीसीले उल्लेख गरेको छ । रोयटर्सले गएको साता १० मिनेटमा १०० भन्दा बढी बिकिनी र नग्न तस्बिरको अनुरोध ग्रोकलाई आएको र त्यसमध्ये एक्सएआईले २९ वटा अनुरोध स्वीकार गर्दै तस्बीर जेनेरेट गरिदिएको उल्लेख छ ।

यस घटनापछि सरकारी तहमा कडा प्रतिक्रिया देखिएको छ । भारत र बेलायतले एक्सलाई औपचारिक नोटिस पठाउँदै सम्भावित कानुन उल्लङ्घनबारे स्पष्टीकरण मागेका छन् । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले महिलाका तस्बिरहरू सहमतिबिना बारम्बार परिवर्तन गरी सार्वजनिक गरिएको भन्दै यसलाई गोपनीयता र गरिमामाथिको उल्लङ्घन भनेको छ । सूचना प्रविधि कानुनअनुसार एक्सलाई ७२ घण्टाभित्र के–कस्ता कदम चालियो भन्ने विवरणसहितको प्रतिवेदन बुझाउन निर्देशनसमेत दिएको छ ।

एक्सको सेफ्टी टिमले प्लाटफर्ममा दिएको वक्तव्यमा ‘बाल यौन शोषण सामग्रीसहित गैरकानुनी सामग्रीविरुद्ध कारबाही गर्ने, त्यस्तो सामग्री हटाउने, खाताहरू स्थायी रूपमा निलम्बन गर्ने र आवश्यक परे स्थानीय सरकार तथा कानुन कार्यान्वयन निकायसँग सहकार्य गर्ने’ प्रतिक्रिया दिएको छ । मस्क आफैंले पनि ‘ग्रोक प्रयोग गरेर गैरकानुनी सामग्री बनाउने जो-कोहीले परिणाम भोग्नुपर्छ’ भन्दै पोस्ट गरेका छन् । तर, कतिपय अवस्थामा उनैले यसरी बिगारेर पोस्ट गरिएका आफ्नै र अरूका तस्बीर फैलाउने काम गरेको देखिन्छ ।

बेलायतको सञ्चार नियामक अफकमले प्रयोगकर्तालाई हानिकारक र गैरकानुनी सामग्रीबाट जोगाउने कानुनी दायित्व पूरा भए-नभएको विषयमा एक्ससँग स्पष्टीकरण मागेको छ । युरोपेली संघ र फ्रान्सले यसलाई ‘अवैध र घृणित’ भन्दै अनुसन्धान सुरु गरेका छन् ।

नेपालमा पनि केही उच्च राजनीतिक नेता र इन्फ्लुएन्सरका तस्बिरमा बिकिनी अनुरोध भएको र ग्रोकले सो गरिदिएको देखिएको छ । त्यस्ता तस्बिर एक्समा छरपस्ट छन् । यो घटनाले सामाजिक सञ्जाल र एआईको नैतिक प्रयोगबारेको पुरानो बहसलाई फेरि सतहमा ल्याएको छ । शक्तिशाली एआई प्लाटफर्महरूको प्रयोगसँगै जिम्मेवारी, कन्टेन्ट व्यवस्थापनको प्रभावकारिता र प्रयोगकर्ता सुरक्षाबीचको सन्तुलनबारे स्पष्ट मापदण्ड र कडा नियमन आवश्यक भएको निष्कर्षतर्फ बहस केन्द्रित हुँदै गएको बीबीसीले उल्लेख गरेको छ ।