काठमाडौँ,माघ ११ गते । जेन—जी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमा विदेशी पनि छन् । जघन्य र संगठित अपराधमा संलग्न विदेशी कैदी भाग्दा शान्तिसुरक्षामा जोखिम त बढेकै छ, सँगसँगै उनीहरूले तिर्नुपर्ने धरौटी र क्षतिपूर्तिबापतको रकम पनि राज्यले गुमाएको छ । जेलबाट भागेका कैदी फागनु २१ को चुनावमा खतरा हुन सक्ने भन्दै दलहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।
दक्षिण अफ्रिकी नागरिक मार्लेस बाडेनहोस्र्ट ६ किलो हिरोइनसहित साउन २०, २०७९ मा ठमेलको एक होटलबाट पक्राउ परिन् । सुटकेसको फल्स बटममा लुकाएर हिरोइन ल्याएकोमा जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै २० वर्षको जेल सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
मार्लेसले आफ्ना साथी विलियमले उक्त सामान पठाएको र आफूलाई सुटकेसमा लागूऔषध छ भनेर जानकारी नभएको दाबी गरे पनि प्रमाणको अभावमा अदालतले उनको तर्कलाई स्वीकार गरेन ।
प्रहरीको अनुसन्धान प्रतिवेदन, प्रयोगशालाको परीक्षण र साक्षीहरूको बकपत्रलाई मुख्य आधार मानेर जिल्ला अदालतले कैद सजाय र १० लाख जरिवाना तोकेपछि उनी साउन २०, २०७९ मा केन्द्रीय कारागार सुन्धारा चलान भइन् ।
तर, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर जेन—जीले गरेको आन्दोलनका क्रममा भदौ २४ गते जेलबाट भागेकी उनी फरारको सूचीमा छिन् । जेन—जी आन्दालनमा भागेर फरारको सूचीमा रहेकी उनी एक्ली होइनन् । आन्दोलनका बेला साढे १३ हजार कैदी भागेकामा ९ हजार मात्र फिर्ता भएका छन् । फरार ४ हजारमा ६ सय २१ जना त विदेशी मात्रै छन् । फरार हुने विदेशीमा लागूऔषध मुद्दाका २ सय २६ जना छन् । त्यस्तै जबरजस्ती करणीका ८३ जना, सुन तस्करीमा संलग्न ३१, कर्तव्यज्यान, ज्यानसम्बन्धी कसुरका १ सय २९ विदेशी कैदीबन्दी फरार भएका छन् ।
जघन्य र संगठित अपराधमा संलग्न विदेशी कैदी भाग्दा शान्तिसुरक्षामा जोखिम त बढेकै छ, सँगसँगै उनीहरूले तिर्नुपर्ने धरौटी र क्षतिपूर्तिबापतको रकम पनि राज्यले गुमाएको छ । “आन्दोलनले कैदी मात्रै भागेनन्, सुन तस्करीलगायतका मुद्दाबाट राज्यले पाउने करोडौँ रकम पनि गुमेको छ,” एक कारागार प्रशासकले भने ।
३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो कायम गरिएको सुन तस्करीको मुद्दामा पुर्पक्षका लागि काठमाडौंको केन्द्रीय कारागारमा थुनामा रहेका ७ चिनियाँ, ५ भारतीय र १ जना बेल्जियमका नागरिक फरार छन् ।
६० केजी सुन तस्करी गरेको आरोप लागेका चिनियाँ नागरिक कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । उनीसँग नेपाली नागरिकता र सोही नागरिकता प्रयोग गरी निकालेको सवारी अनुमतिपत्र फेला परेको थियो ।
त्रिभुवन विमानस्थल हुँदै मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो ७ सय ७८ ग्राम सुन तस्करी भएको भन्दै २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
जसमा तिब्बती मुलकका बेल्जियम नागरिक निमा तामाङ भनिने दावा छिरिङ पनि छन् । उनले काभ्रे नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरा बनेर नागरिकता लिएको पाइएको थियो । उनी ठमेलको होटल भियनाबाट असार २६, २०८१ मा पक्राउ परेका थिए । सुन तस्करीका आरोपमा अदालतको आदेशले थुनामा रहेका सबैजसो बन्दी फरार रहेको केन्द्रीय कारागारले जनाएको छ । “सुन काण्डमा थुनामा रहेका विदेशी सबै बन्दी फरार सूचीमा छन्,” कार्यालयका सूचना अधिकारी बैकुण्ठ अधिकारीले भने ।
फरार भएका २५ प्रतिशत मात्रै फिर्ता
कारागार विभागका अनुसार आन्दोलनका क्रममा नेपालका २८ वटा कारागारबाट १३ हजार ५ सय ८५ कैदीबन्दी भागेका थिए । फरार भएका मध्ये ९ हजार १ सय ६७ कैदीबन्दी मात्रै फिर्ता भएका छन् ।
कारागार विभागका अनुसार फरार भएकामा १२ हजार ७ सय ६१ स्वदेशी र ८ सय २४ जना विदेशी थिए । सरकारले फरार कैदीलाई फिर्ता आउन आह्वान पनि गरेको छ । अहिलेसम्म फरार भएका मध्ये ७०.२० प्रतिशत अर्थात् ८ हजार ९ सय ५९ स्वदेशी कैदीबन्दी फिर्ता भएका छन् ।
फरार भएका ८ सय २४ विदेशी कैदीमध्ये २४.६३ प्रतिशत अर्थात् २ सय ३ मात्रै फिर्ता भएका छन् । जसअनुसार ७५ प्रतिशत विदेशी कैदी फरार छन् । स्वदेशी फरार कैदीलाई प्रहरी प्रशासनले पक्राउ गरिरहे पनि विदेशीलाई भने पक्राउ गर्न सकेको छैन । फरार भएका सबै विदेशी कैदी सीमा नाका कटेर भागिसकेको अनुमान प्रहरीको छ । एक जना प्रहरी अधिकारीले भने, “नेपालमै भूमिमा भए त पक्राउ पर्ने नै छन्, तर विदेशीले त डाँडा काटिसके ।”
के गर्दै छ सरकार ?
कारागार विभागका निर्देशक चोमेन्द्र न्यौपानेले फरार कैदीबन्दीलाई हवाई तथा स्थलमार्ग हुँदै अन्यत्र जान नदिन विशेष निगरानी बढाएको बताए । छुट्टै कार्यदल नै बनाएर उनीहरूको खोजी भइरहेको उनी बताउँछन् । “उनीहरूको नाम नामेसी विवरण विमानस्थल र नाकामा पठाएका छौँ,” उनले भने, “केही पक्राउ पनि परेका छन् ।”
भागेका कैदीबन्दीका बारेमा अन्तर्राष्ट्रिय निकायलाई पनि जानकारी गराएको कारागार विभागका निर्देशक चोमेन्द्रले बताए । फरार विदेशी कैदीको जानकारी गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत नेपालमा रहेको सम्बन्धित देशको दूतावासमा जानकारी गराइसकेको छ । “नेपालमा उनीहरूलाई कालोसूचीमा राखेका छौँ,” उनले भने ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले फरार कैदीको खोजी गर्न कारागार विभाग र प्रहरी मिलेर संयुक्त रूपमा काम भइसकेको बताउँछन् । इन्टरपोलमा जानकारी गराउने प्रक्रिया पनि अघि बढाएको उनले बताए । “नेपालमै लुकेर बसेको हुन सक्ने भएकोले उनीहरूलाई निगरानी पनि बढाएका छौँ,” उनले भने ।
तर, सरकारले भागेका कैदी पक्रन जुन गरिरहेको प्रयास अपुग भएको विज्ञहरू बताउँछन् । पूर्वएआईजी किरण बज्राचार्यले जेलबाट भागेका कैदीलाई अन्तर्राष्ट्रिय रूपमा खोजीमा रहेको सूचीमा समावेश गरी पक्राउ गर्न इन्टरपोलमार्फत पहल तीव्र पार्नु पर्ने बताइन् । “नेपालमा कालोसूचीमा मात्रै राखेर हुँदैन,” उनले भनिन्, “जुन देशका नागरिक हुन्, त्यही देशलाई जानकारी गराउन ढिलाइ गर्नु हुँदैन ।”
जेलबाट भागेका अन्तर्राष्ट्रिय कैदीहरू पक्राउ नपर्नु झनै गम्भीर विषय हो । उनी यसलाई राज्यले चासो दिनुपर्नेमा जोड दिन्छिन् । फरार कैदीबारे जानकारी दिनेलाई पुरस्कार घोषणा पनि गर्न सकिने उनले उपाय सुनाइन् ।
इन्टरपोललाई जानकारी गराए पनि फरार विदेशी नागरिक पक्राउ गरेर नेपाल ल्याउन कठिन भएको सुरक्षाविज्ञहरू बताउँछन् । इन्टरपोलले मागेका नेपाली नागरिक पक्राउ गरेर पठाउन त हम्मेहम्मे परेको बताउँदै उनी नेपालले मागेकै भरमा कुनै पनि देशले आफ्नो नागरिक पक्राउ गरेर पठाउने अवस्था आफूले नदेखेको इन्टरपोलमै कार्यरत एक प्रहरी (नाम उल्लेख गर्न नचाहने) ले बताए ।
उनले जेलबाट फरार हुनेमा भारतीय धेरै रहेको बताउँदै भने, “हामीले अनुरोध गर्दा होस् वा इन्टरपोलमार्फत, जे गरे पनि भारतले आफ्ना नागरिक पक्राउ गरेर पठाउँदैन । अरू देशको त के कुरा गर्नु ।”
– निमजनमा प्रकाशित सामग्री
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















