01/27/2026, 10:14:25
मङ्गलबार, माघ १३, २०८२

सुरक्षित आवासले फेरियो निर्मलाको जीवन


दाङ, माघ १३ गते । वर्षौँदेखि पीडा, अभाव र असुरक्षाबिच जीवन बिताउँदै आएकी राजपुर गाउँपालिका १ टबडरापुरकी निर्मला चौधरीको परिवारमा सुरक्षित आवास पाएसँगै नयाँ आशाको उज्यालो फैलिएको छ । श्रीमान् गुमाएपछि तीन छोरीको सम्पूर्ण जिम्मेवारी एक्लै बोकेकी निर्मलाका लागि सुरक्षित घर पाएपछि भविष्यप्रतिको भरोसा र आत्मविश्वास बढेको छ ।

चार वर्षअघि मजदुरीका लागि बुटवल गएका उहाँका श्रीमान् घुमेश्वर चौधरीले माघ आउनु १५ दिनअघि नै ‘माघ मान्न घर आउँदैछु’ भनेर फोन गर्दा निर्मला मात्र होइन, छोराछोरी पनि खुशी हुनुभएको थियो । तर त्यो खुशी लामो समय टिक्न सकेन । पुस १५ गते हाँसीखुशी फोन गरेका घुमेश्वरको एक सातापछि अचानक बिरामी भएको खबर आयो । बुटवलको अस्पतालमा परीक्षण गर्दा उहाँलाई जन्डिस देखियो । उपचारपछि उहाँ घर त फर्किनुभयो, तर रोगले थलिएका अवस्थामा ।

गाउँभरि माघको चहलपहल बढ्दै गर्दा निर्मलाको घरमा भने चिन्ताको बादल मडारिन थाल्यो । दिनदिनै घुमेश्वरको स्वास्थ्य कमजोर बन्दै गयो । अन्ततः जन्डिसले गम्भीर रूप लिएपछि पुस २९ गते थप उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै उहाँको निधन भयो । त्यसपछि निर्मलाका दुःखका दिन सुरु भए । मजदुरी गरेर परिवार पाल्दै आएका घरमूलीको निधनपछि तीन कलिला छोरीको जिम्मेवारी एक्लै उहाँको काँधमा आयो ।

मजदुरी नगर्दा चुलो बल्दैन, मजदुरी जाँदा छोरीहरूको हेरचाह कसले गर्ने ? सानो छाप्रोको घर, त्यसमाथि माइली छोरी सिकलसेल रोगबाट पीडित । पीडामाथि पीडा थपिँदै गयो । छोरीहरूको भविष्यका लागि निर्मला गाउँमै दैनिक पाँच सय रुपियाँमा मजदुरी गर्दै आइरहनुभएको छ । माइली छोरीको उपचारका लागि कहिले महिनामा दुई पटक त कहिले तीन महिनामा एक पटक घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान  पुग्नुपर्छ । “रगत र औषधी निःशुल्क भए पनि यातायात खर्चमै एक पटकमा आठ सय रुपियाँ जान्छ,” उहाँले भन्नुभयो ।

यस्तै संघर्षबिच एक दिन वडा कार्यालयबाट खबर आयो । घर बनाइदिने मान्छे भेट्न आउँदैछन् । सुरुमा उहाँलाई विश्वास लागेन । तर केही दिनपछि ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीसहित स्थानीय जनप्रतिनिधिहरू घरमै आएर सुरक्षित आवास निर्माणबारे छलफल गरे । त्यसपछि केन्द्रले राजपुर गाउँपालिका र निवास संस्थासँगको सहकार्यमा निर्मलाको परिवारका लागि दुई कोठे भूकम्प प्रतिरोधी पक्की घर र शौचालय निर्माण गरिदियो ।

अहिले निर्मला आफ्ना छोरीहरूसहित नयाँ घरमा ढुक्कका साथ बस्दै आउनुभएको छ । “जिन्दगीमा यस्तो घर बन्छ भन्ने सोचेकी थिइनँ,” खुशीका आँसु पुछ्दै उहाँले भन्नुभयो, “घर बनेपछि छोरीहरू मन लगाएर पढ्न थालेका छन् ।” अब उहाँका सपना पनि फेरिएका छन् । “छोरीहरूलाई पढाएर ठुलो मान्छे बनाउने सपना छ,” उहाँले आशाभरि स्वरमा भन्नुभयो ।

अतिविपन्न, एकल महिला र १६ वर्षमुनि बालबालिकाको आशा र आत्मविश्वास जगाउने उद्देश्यले सुरक्षित आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरिएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी  बताउनुभयो । उहाँका अनुसार राजपुरमा निर्मलासहित तीन परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरिसकिएको छ भने गत वर्ष मात्रै चारवटा घर निर्माण गरिएको थियो ।

– सन्तोष दहित