कावासोती, पुस २६ गते । गत साउन १४ गते नै कार्यकाल सकिएका चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पूूर्वी नवलपरासी, चितवन र मकवानपुर जिल्लामा गरेर २२ वटा मध्यवर्ती उपभोक्ता समिति रहेका भए पनि कार्यकाल सकिएको पाँच महिना बित्दासम्म आठ वटा उपभोक्ता समितिले मात्रै नयाँ नेतृत्व पाएको चितवन राष्ट्रिय निकुुञ्जले जनाएको छ ।
२२ उपभोक्ता समितिमध्ये पूर्वी नवलपरासीमा पर्ने त्रिवेणी, सिख्रौली र नन्दभाउजू तथा चितवनका खगेन्द्र मल्ली, पटिहानी, केरुङ्गा र निर्मलठोरी उपभोक्ता समितिमा मात्रै नयाँ नेतृत्व चयन भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । थापाका अनुसार पूर्वी नवलपरासीमा पाँच र चितवन मकवानपुरमा नौ गरी जम्मा १४ वटा उपभोक्ता समिति विगत पाँच महिनादेखि नेतृत्वविहीन रहेका हुन् । निकुञ्जले गत साउन मसान्तसम्म उपभोक्ता समिति गठन गर्न निर्वाचन अधिकृत तोकेर निर्वाचनको कार्यक्रम अगाडि बढाएको भए पनि निर्वाचन भने हुन सकेको छैन ।
यता उपभोक्ता समितिमा नेतृत्व नहुँदा अन्नबालीको क्षतिको राहत, व्यवसायको सिफारिसलगायतका सेवा प्रवाह रोकिएको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाले घरगोठ बनाउँदा आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्ने, बालीनालीको क्षतिको राहत प्राप्त गर्ने र मध्यवर्ती क्षेत्रमा सञ्चालन हुने व्यवसायले दर्ता र नवीकरणका लागि सिफारिसका काम प्रभावित भएका लामीचौर उपभोक्ता समितिका निवर्तमान सचिव लेखनाथ दवाडीले बताउनुभयो । उपभोक्ता समिति नेतृत्वविहीन हुँदा चालु आवमा निकुञ्जबाट प्राप्त हुने बजेट विनियोजन हुन नसकेको र प्राप्त भएका बजेटसमेत कार्यान्वयन हुन सकेको छैन, यसले गर्दा संरक्षणमा समेत गम्भीर असर पु¥याएको दवाडीले बताउनुभयो ।

लामो समयसम्म मध्यवर्ती उपभोक्ता समिति नेतृत्वविहीन हुँदा संरक्षणमा समेत असर पुग्ने भन्दै सरोकारवालाले तत्काल विवाद समाधान गरेर निकास निकाल्न आग्रह गर्दै आएका छन् । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको प्रभावका कारण केही समय रोकिएको भए पनि स्थानीयस्तरमा विभिन्न माग राख्ने र माग पूरा नहुँदासम्म निर्वाचन हुन नदिने गतिविधि बढेपछि निकुञ्जले निर्वाचन अगाडि बढाउन नसकेको हो ।
समूहभित्रको आन्तरिक विवाद, मध्यवर्ती क्षेत्रभित्रको सुकुमवासी समस्या, नदी कटानको क्षतिपूर्ति, मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुका कारण अन्नबाली र मानिसमा पुगेको क्षतिपूर्तिका विषयमा विभिन्न माग राखेर मध्यवर्तीका स्थानीय विभाजित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया रोकिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताउनुभयो । नयाँ नेतृत्व चयनका लागि निकुञ्जले अधिकतम प्रयास गरिरहेको भए पनि स्थानीय बासिन्दा सहमत हुन नसक्दा समिति गठनमा अन्योल भएको पन्तले बताउनुभयो ।
कतिपय मुद्दा र माग पूरा गर्न ऐन संशोधन हुनुपर्ने भएकाले स्थानीयले उठाएका सबै माग सम्बोधन गर्न निकुञ्जले नसक्ने डा. पन्तको भनाइ छ । उहाँले निर्वाचनका लागि स्थानीय सरकार, संरक्षणकर्मी, सरोकारवालासँग दैनिक जसो छलफल गरिरहेको जानकारी दिनुभयो । प्रमुख पन्तका अनुसार नवलपुरको गोसाईबाबा निर्वाचनको मिति तय भइसकेको तथा चितवनको माडी क्षेत्रका चार वटा उपभोक्ता समितिको निर्वाचनका लागि स्थानीयसँगको छलफल पछि निकुञ्जले प्रक्रिया अगाडि बढाउन लागेको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














