01/17/2026, 16:12:24
शनिबार, माघ ०३, २०८२

देउवा, कोइराला र खड्काबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं : गगन थापा


काठमाडौँ, माघ ३ : कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला  र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् ।

सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । ‘पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा हौं । निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं । उहाँले देशभरिका साथीहरूलाई भनिदिनुपर्छ- अब यो रोक । एक चरणसम्म हाम्रा विमतिहरू रहे, किनकि उहाँ त कार्यकारी भूमिकामा हुनुहुन्नथ्यो । वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यो भूमिका अपेक्षा गरेका छौं,’ सभापति थापाले भने ।

पार्टीभित्रका नेताहरूसँग नवनिर्वाचित पदाधिकारी र नेताहरूले कुराकानी गरिरहेको बताउँदै सभापति थापाले केही दिनभित्रमै सबै नेता एक ठाउँमा बसेर आगामी निर्णय लिने बताए । ‘दुई-तीन दिनभित्र सबै एक ठाउँमा आएर पार्टीलाई अगाडि बढाएको देख्न सक्नुहुन्छ । संवादको थालनी गरिसकेको छु । पार्टीका साथीहरूसँग विभिन्न तहमा छलफल भएको छ,’ उनले भने । पार्टीका सबै पक्षलाई समेटेर अगाडि बढाउने उनको भनाइ थियो ।

पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको नयाँ निर्वाचित समितिलाई हुने भनी निर्वाचन आयोगले शुक्रबार निर्णय गरेको थियो । उक्त निर्णयपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आपत्ति जनाउँदै राजनीतिक र कानुनी लडाइँ लड्ने भन्दै आक्रोश व्यक्त गरेका थिए ।

सभापति थापाले यस सम्बन्धमा भने, ‘कांग्रेस विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने कुरा टुंगिएपछि यो विधानसम्मत भएन कि भनेर निर्वाचन आयोगमा जाने र परीक्षण गर्ने कुरा पार्टीका साथीहरूले गर्नुभयो । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । हामी पनि निर्वाचन आयोग गएका हौं ।

थापाले आधिकारिकताको विवाद टुंगो लागिसकेपछि अब एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । नयाँ युगको नयाँ चेतनाअनुसारको कांग्रेस पार्टी निर्माण गर्नका लागि नयाँ र पुराना पुस्ताका नेताहरूलाई समेटेर लैजाने उनको भनाइ थियो ।