सरस्वती माता ज्ञान–विज्ञान, कला–शिल्प, सङ्गीतकी देवी हुन् । हिन्दु संस्कृतिमा माघ शुक्ल पञ्चमीमा श्रीपञ्चमी पर्व मनाइन्छ । यस पर्वलाई सरस्वती पञ्चमी एवं वसन्तपञ्चमी पनि भनिन्छ । यस पर्वको दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको जन्म जयन्तीको रूपमा देशभरिका सरस्वती मन्दिरमा पूजा, उपासना र निम्न स्तुति पाठ गरेर सम्झन्छौँ, ‘शुक्लां ब्रह्म विचार सार परमांमाद्यां जगद्व्यापिनीं । वीणा पुस्तक धारिणीमभयदां जाड्यान्धकारापहाम् । हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थितां । वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।’
अर्थात् सुन्दर, स्वच्छ वस्त्र धारण गर्र्नुभएकी, ब्रह्ममयी शक्तिरूपिणी, सर्वत्र व्याप्त, वीणा र पुस्तक हातमा लिनुभएकी, अभय मुद्रामा स्थित भई अज्ञानरूपी अन्धकार हटाउने, अक्षर ब्रह्मको स्वरूप एक हातमा स्फटिक माला धारण गर्नुभएकी, कमलमा पद्मासनमा विराजमान् बुद्धिदायिनी भगवती सरस्वती मातालाई प्रणाम अर्पण गर्छु । यसरी विधि–विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रसिद्धिको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।
वसन्तपञ्चमी पर्व
प्राकृतिक रूपमा वर्षका बाह्र महिनालाई छ वटा ऋतुमा बाँडिएको छ । जेठ–असारमा ग्रीष्म, साउन–भदौमा वर्षा, असोज–कात्तिकमा शरद्, मङ्सिर–पुसमा हेमन्त, माघ–फागुनमा शिशिर र चैत–वैशाखमा वसन्त ऋतु पर्छन् । यसरी ऋतुहरूको क्रमिक विभाजन गरिए अनुसार वसन्तपञ्चमी पर्व चैत महिनामा पर्नुपर्ने हो । किन माघ शुक्ल पञ्चमीमा पर्छ भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । पुराणकर्ताले रोचक कथाको परिकल्पना गरेको पाइन्छ । जस अनुसार एक पटक पाँच वटा ऋतु मिलेर स्वेच्छाले आफ्ना राजा वसन्तको अभिनन्दन गरे । उक्त अभिनन्दनमा आआफ्नो अवधिबाट आठ दिन उपहारस्वरूप ऋतुराज वसन्तलाई अर्पण गरे । यसरी पाँच वटा ऋतुबाट अर्पित आठ आठ दिन जोड्दा ४० दिन हुन जान्छ । अतः चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनपूर्व अर्थात् माघशुक्ल पञ्चमीमा वसन्तपञ्चमी पर्व मनाइन्छ ।
यसै बेलादेखि एकातिर शिशिर ऋतुको जाडो सेलाउन थाल्छ भने उता प्रकृतिमा नयाँ छटा, नयाँ उमङ्ग देखा पर्न थाल्छ । हिउँदे बाली पनि लहलहाउन थाल्छन् । के मानिस, के पशुपन्छी सब प्राणीमा नयाँ जीवन सञ्चारको आभास अनुभव हुन थाल्छ । सर्वत्र वसन्त ऋतुको शुभ आगमनको हार्दिक स्वागत हुन थाल्छ । अनि वनउपवनमा बोटबिरुवा पल्लवित हुन थाल्छन् । कोकिलको पञ्चमस्वर पनि प्रतिध्वनित हुन थाल्छ । भवराहरूको गुन्जन गुन्जिन थाल्छ । मन्द पवनको सौरभ छरिन थाल्छ ।
सरस्वती देवीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी आदि नामले सम्बोधन गरिन्छ । शास्त्रमा सरस्वती देवीको लक्षण श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वाेत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, एक हातमा वीणा, एकमा पुस्तक, एकमा स्फटिकको माला र अर्को एक हातमा अभय मुद्रामा रहेकी, चतुर्भुजा, राजहंस (सेतो हाँस) माथि सवार भएकी भनेर बताइएको छ । सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्छन् । स्तोत्र–पाठ, पूजा गरी महत्वका साथ मनाउँछन् र सरस्वतीका मन्दिरमा गई दर्शनपूजन पनि गर्छन् ।
पुस्तक ज्ञान विज्ञानको प्रतीक हो भने वीणाले समस्त सङ्गीतको प्रतिनिधित्व गरेको छ । स्फटिक माला शब्द रूपमा परिभाषित हुने अक्षर ब्रह्मको प्रतीक हो भने अभय मुद्राको हातले समस्त लोकलाई अभयदान गर्छ । उहाँको वाहन हाँस (हंस) छ । पानी र दुध छुट्याउने भनेर हाँसलाई प्रतीक अर्थमा लिइएको छ । अनन्त, ज्ञान, गुण दिने विद्या पुस्तकमा नै लेखिएका हुन्छन् र जसको अध्ययन, मननले नै मानिस विद्वान् बन्छ । त्यसैले पुस्तकलाई सरस्वतीको रूपमा सम्मान र पूजा गरिँदै आइएको छ । अक्षररूपा सरस्वतीको ध्वनि रूप शब्द र शब्दको सञ्चयद्वारा बनेका वाक्यांश तथा वाक्यद्वारा प्राप्त हुने ज्ञान नै विद्या हो । विद्याले नै सामाजिक चेतना जागृत हुन्छ भन्ने भावना हामी सबैमा रहेको छ ।

शुभसाइतको पर्व
महाशक्ति सरस्वती माताको कृपाले नै जीवनको सुरुवात हुने भएकाले हाम्रो धर्म संस्कृतिमा श्रीपञ्चमीलाई विशिष्ट पर्वको रूपमा मानी माता सरस्वतीप्रति उच्च सम्मान दिने गरेको पाइन्छ । बालबालिकाको नाक कान छेड्न चाहनेहरूले पनि यसै दिनलाई पर्खेको पाइन्छ । साना नानीहरूलाई अक्षरारम्भ गराउने प्रचलन पनि यही दिन गरिन्छ । शिशुहरूलाई अक्षर सिकाउन सुरु गरी ती कलिला शिशुहरूको हृदयमा ज्ञानको ज्योति बाली विद्या साधनाको जग बसालिन्छ । यसरी अक्षरारम्भ गरिने यस दिन सरस्वतीको मन्दिरमा गई भित्तामा ‘नम वागीश्वराय’ लेखाउने चलन पनि छ । काँक्रो, घिरौँला, करेला, चिचिण्डो, फर्सी, बोडी, खुर्सानी, सिमी आदि बीउबिजन यही दिनमा बिजारोपण गरिन्छ । जुनसुकै कार्य पनि निर्बाध रूपमा सुरुवात गर्न सकिने प्रावधान राखी ज्योतिषीय दृष्टिकोणले पनि साइत हेर्न नपर्ने यस दिनलाई एक दिव्य दिन मानिएको छ ।
उपत्यकास्थित सरस्वती मन्दिर
काठमाडौँ उपत्यकाभित्र प्रशस्तै सरस्वतीका मन्दिर एवं मूर्ति छन् । तीमध्ये पशुपति देवपत्तनको जयवागीश्वरी मन्दिरलाई हामी पुरातन मान्न सक्छौँ । लाजिम्पाटकी साखुना सरस्वती, बल्खुकी सरस्वती, फर्पिङकी पङ्की सरस्वती, चाँगुकी अपराजिता सरस्वती, लेलेका सरस्वती प्राचीन सरस्वती मुख्य स्थान हुन् भनिन्छ । लिच्छविकालमा नेपाल उपत्यकाको विद्या केन्द्र लेम्बटी भन्ने ठाउँमा थियो, जसलाई आजभोलि लेले भनिन्छ । लेलेमा सरस्वतीकुण्ड र ज्ञानकुण्ड नाउँका दुई कुण्ड छन् । शक संवत् ५२६ को शिलालेखमा लेले र सरस्वती कुण्डको बारेमा उल्लेख छ । त्यस हिसाबले लेले कुण्डले तीर्थको रूपमा ख्याति पाइसकेको बुझिन्छ । त्यहाँको कुण्डमा स्नान गर्ने र कुण्डको जल तीन पटक पिउनाले बोल्न नजान्नेको बोली फुट्ने, वाक्य शुद्ध हुने र मूर्ख पनि विद्वान् बन्ने जनविश्वास गरिन्छ ।
बौद्ध धर्ममा पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रूपमा ज्ञानको प्रतीक मानेर पूजा गरिन्छ । यस दिन सरस्वती र मञ्जुश्रीका मन्दिरमा दर्शनार्थीको भिड लाग्छ । वैष्णव सरस्वतीलाई वैष्णवीको रूपमा पनि मान्छन् । भक्तपुरको हनुमन्ते खोलाको पूर्वपट्टि एउटा देवाली गर्ने ठाउँ छ । त्यहाँको सानो मन्दिरभित्र एउटा मूर्ति छ । त्यसलाई चौरमा बस्ने सरस्वती भनिन्छ । ती सरस्वतीलाई ल्हासाबाट ल्याएको भन्ने भनाइ छ । तिनलाई नीलसरस्वती भन्छन् र बौद्धमार्गी मञ्जुश्री भन्छन् । त्यस मन्दिरमा सरस्वती पूजाको अघिल्लो दिन मूर्तिमा तेल घस्न जाने विद्यार्थीको भिड लाग्छ ।

हनुमानढोकामा वसन्तश्रवण
लिच्छविकालीन गोकर्णको खण्डित अभिलेखमा शुक्ल पञ्चमीको बारेमा धार्मिक रूपमा उल्लेख गरिएको छ । यसबाट लिच्छवि शासकबाट पनि वसन्तोत्सव पर्व मनाइन्थ्यो भन्ने अड्कल काट्न सकिन्छ । मल्लराजाबाट श्रीपञ्चमीका दिनमा कामदेवको पूजा गरी वसन्तोत्सव मनाइन्थ्यो भन्ने तथ्य अभिलेखबाट प्रमाणित भइसकेको छ । त्यसपछि नेपाल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट श्रीपञ्चमीमा वसन्तपुर दरबारको समुद्घाटनका साथै हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको शुभारम्भ भएको थियो । आज पनि हनुमानढोका दरबारको नासलचोकमा राष्ट्रपतिको समुपस्थितिमा मूल पुरोहितले ‘गीतगोविन्द’ भन्ने कृतिको दोस्रो अध्याय ‘वसन्त श्रवण’ गर्ने तथा ‘वासन्तिक राग’ अलाप्ने प्रचलन रहिआएको छ ।
वसन्तपञ्चमी पर्वलाई श्रीपञ्चमी पर्व पनि भनिन्छ । ‘श्री’ भन्नाले ‘श्री सम्पत्ति’ अर्थात् लक्ष्मीलाई जनाउँछ । यस दिन सरस्वती पूजाको अतिरिक्त आर्थिक कारोबारको सुरुवात गर्ने पहिलो दिन पनि हो । विगतमा बैङ्क, वित्तीय संस्था गाउँ सहरमा सहज नहुँदा ऋण लिने दिने गरेर घर व्यवहार सञ्चालन गरिन्थ्यो । कुनै ठाउँमा मङ्सिर १५, पुस १५, फागुन १५ हुन्थ्यो भने श्रीपञ्चमीको भाकामा थैली, सावाँ ब्याज चुक्ता गरी ऋण मुक्त हुने तिथि–मिति मानिन्थ्यो । अहिले समय परिवर्तन भएको छ । देवताप्रतिको आस्था भक्तालुको श्रद्धा र भक्तिमा रहेको हुन्छ । नाम जेसुकै भने पनि विद्याकी देवीको रूपमा नै सरस्वती र मञ्जुश्री सम्मानित हुनुहुन्छ । एउटै मूर्तिको विभिन्न नामले पूजा गरिनु नेपाली संस्कृतिकोे विशेष पक्ष हो । श्रीपञ्चमी ज्ञानको ज्योति फैलाउने पर्व हो ।
बोधनाथ पौडेलWhat if you could work from Anywhere?
Explore More with something that can change your Life!


















