12/25/2025, 15:39:54
बिहिबार, पुष १०, २०८२

दैनिक छाक टार्न राप्ती बगरमै सङ्घर्ष


हेटौँडा, पुस १० गते । हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई सधैँ दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका राइगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुम्वासी बस्तीमा बस्न बाध्य हुनु भयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन सङ्घर्ष उस्तै छ ।

भ्लोन र उहाँका श्रीमान् मिलेर दैनिक ज्यालादारी गर्दै परिवार पाल्दै आउनु भएको थियो । “एलानी दस कट्ठा जग्गा थियो, त्यही खेतीपाती गरेर परिवारको गुजारा राम्रो चलिरहेको थियो,” विगत सम्झँदै उहाँले भन्नु भयो, “बाढीले सबै बगायो, अहिले ज्याला मजदुरी गरेरै परिवार पाल्दै आएको छु ।

उहाँको दैनिकी बिहान सात बजे राप्ती नदीको बगरबाट सुरु हुन्छ । दिनभर बालुवा चालेर एक टिप पुर्‍याउन चारदेखि पाँच दिन लाग्ने उहाँ बताउनु हुन्छ । “एक टिप बालुवाबाट १५ सय रुपियाँ आउँछ, त्यसैको आम्दानीले जसोतसो अन्नको जोहो हुन्छ,” भावुक स्वरमा उहाँले भन्नु भयो ।

श्रीमान् सुगर रोगबाट पीडित भएकाले घरखर्चको मुख्य भार उहाँकै काँधमा छ । “ज्यान चलेसम्म कमाएर खानु पर्‍यो,” भ्लोनले भन्नु भयो, “हामीजस्ता मजदुरलाई जीवन बाँच्न गाह्रो छ ।”  बालुवा चाल्नुका साथै भ्लोन धान रोप्ने, काट्ने लगायतका कृषि काममा पनि ज्यालादारी गर्न जाने गर्नु हुन्छ । स्थायी रोजगारी र आयको स्रोत नहुँदा उहाँको परिवार आज पनि दैनिक मजदुरीमै निर्भर छ ।

त्यस्तै हेटौँडा–११, सिमलटारकी ४८ वर्षीय सिर्जना घलान पनि मजदुरी गरेरै परिवार पाल्दै आउनु भएको छ । श्रीमान् रोगी भएकाले दैनिक औषधी खुवाउनु पर्ने बाध्यताका कारण घरको काम भ्याएर फुर्सद हुने बित्तिकै उहाँ बगरमा पुग्नु हुन्छ । “बालुवा कोट्याउने, थुपार्ने र चालेर आएको मजदुरीबाट परिवार चलाइरहेकी छु,” उहाँले भन्नु भयो ।

बगरमा बालुवा चालेर जीविकोपार्जन गर्न सजिलो नभएको मजदुरहरूको गुनासो छ । कहिले प्रहरी, कहिले साहु–ठेकेदारको डर सहनु परेको उहाँहरू बताउनु हुन्छ । “साँझ–बिहान नभनी काम गर्नु पर्छ । कहिले प्रहरी आएर थर्काउँछ, कहिले साहु कराउन आइपुग्छ,” घलानले गुनासो गर्नु भयो ।

मजदुरहरू बिरामी पर्दा सर-सापट गरेर समस्या टार्ने गरेका छन् । वर्षायाम बाहेक अन्य समयमा खोलामा बालुवा चाल्ने श्रमिकहरू आवश्यक परे अन्य मजदुरीमा पनि लाग्ने गर्छन् । उनीहरू जस्तै यहाँका सयौँ श्रमिक दैनिक ज्यालादारीमै निर्भर रहँदै जीविकोपार्जन गर्दै आएका छन् । पछिल्लो सयम क्रसरहरू खुल्दै जादा मजदुरहरूको रोजगारी समेत गुम्दै गएको छ । ठुला मेसिन र टिप्परको प्रयोगले बालुवा चाल्ने, गिट्टी कुट्ने, ढुङ्गा छुट्याउने मजदुरको रोजगारी गुमेकोमा श्रमिकहरू गुनासो गर्नु हुन्छ ।

उहाँको जस्तै पीडा हेटौँडा उपमहानगरपालिका–१३, वनस्पति निवासी ५७ वर्षीय मेन्दोमाया ब्लोनको पनि छ । उहाँ तीन दिन लगाएर एक टिप बालुवा जम्मा गर्नु हुन्छ । एक दशकदेखि खोला किनारमा बालुवा चालेर जीविका चलाउँदै आउनु भएका ब्लोनले यही आम्दानीबाट परिवारको खर्च टार्दै आउनु भएको छ ।

ज्यामी काममा जान इट्टा, सिमेन्ट बोक्न सक्दिनँ,” ब्लोनले भन्नु भयो, “उमेर ढल्किँदै जाँदा अब यही खोलामा बालुवा चालेर जीविकोपार्जन गर्नुको विकल्प छैन ।” खेतीपाती र स्थायी रोजगारी नहुँदा उहाँहरू मजदुरीमै निर्भर हुन बाध्य हुनु परेको बताउनु हुन्छ । “खेती छैन, जागिर गर्ने कोही छैन । दैनिक ज्यालादारी गरेरै रासनपानी चलेको छ,” मजदुरहरू बताउँछन् ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका–११, सिमलटारका तिलकबहादुर वलको दैनिकी खोला किनारमै बित्ने गरेको छ । विगत १३ वर्षदेखि राप्ती नदी किनाराको बालुवानै उहाँको जीविकाको आधार बनेको छ । बिहान उज्यालो भएदेखि साँझ अँध्यारो नहुँदासम्म उहाँ बगरमै बालुवा चालिरहनु हुन्छ ।

पुसको चिसोमा पनि एकसरो कपडाको भरमा बालुवा चाल्ने जाली र एउटा सावेल बोकेर राप्ती नदी किनारामा पुग्नु उहाँको दैनिकी हो । “दिनभर चालेको बालुवाबाट आएको पैसाले साँझ–बिहानको छाक टारिन्छ,” वलले भन्नुभयो । ४८ वर्षीय वलले बालुवा चालेर भएको आम्दानीबाट सात जनाको परिवार पाल्दै आउनु भएको छ । उहाँको काममा कहिलेकाहीँ छोराले सहयोग गर्ने गरेका छन् । “एउटा छोरा बिरामी छ, अर्को छोराले ट्याक्टर चलाउँछ । मजदुरी गरेरै परिवारको लालनपालन गरिरहेको छु,” उहाँले बताउनु भयो । दिनभरको मजदुरीबाट उहाँले करिब सात सय रुपैयाँ आम्दानी गर्ने गर्नु हुन्छ ।

बाध्यताले यही खोलामा आउनु पर्छ । बगरमा बालुवा चाल्ने रहर कसैलाई हुँदैन,” वलले भन्नु भयो, “शरीरमा शक्ति हुँदासम्म यही ढुङ्गा पल्टाउने, बालुवा चाल्ने हो । मजदुरको पीडा कसले सुनिदिन्छ र ?”   प्रायः गरेर हेटौँडामा रहेको सुकुम्वासी बस्तीका मानिसहरु दैनिक ज्यालादारी र अनौपचारिक क्षेत्रको श्रममा जोडिनु भएको छ । न्यून आय, शिक्षाको कमि र आर्थिक अवस्था कमजोर रहेका यहाँका समुदाय गिट्टी कुट्ने, बालुवा चाल्ने, ट्याक्टर, ट्रिपर चलाउने पेसामा आबद्ध हुनु भएको हो ।

श्रम शक्ति सर्वेक्षण–२०१७ का अनुसार आन्तरिक श्रम बजारमा ७० लाख ८६ हजार कार्यरत छन् । जसमध्ये ४४ लाख ४६ हजार पुरुष छन् भने २६ लाख ४० लाख जना महिला छन् । औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार जना मात्रै कार्यरत छन् । ठुलो हिस्सा ४४ लाख ११ हजार जना (६२.२ प्रतिशत) अनौपचारिक क्षेत्रमा कार्यरत छन् । जसमध्ये कृषि क्षेत्रमा १४ लाख ३४ हजारले रोजगारी पाएका छन् भने गैरकृषिमा २९ लाख चार हजार कार्यरत छन् ।

घरेलु श्रममा भने ७३ हजार जना कार्यरत छन् । पाँच जनामध्ये एक जना कृषि क्षेत्रमा रोजगारी गर्छन् । सबैभन्दा बढी रोजगार दिने क्षेत्र कृषि हो । दोस्रोमा व्यापार क्षेत्र (१७.५ प्रतिशत) पर्छ । त्यसपछि निर्माण क्षेत्र (१३.८ प्रतिशत) छ । सेवा र बिक्रेताको पेसामा २३.८ प्रतिशत श्रमिक आबद्ध हुनु हुन्छ  । उहाँहरू सातामा ४४ घण्टादेखि ५५ घण्टासम्म काम गर्नु हुन्छ । उहाँहरूले सरदर १७ हजार आठ सय नौ रुपियाँ आम्दानी गर्ने श्रम सर्वेक्षणले देखाएको छ ।

अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकहरूका समस्या औपचारिक क्षेत्रमा भन्दा भिन्नै प्रकृतिका छन् । अधिकार, ज्याला–तलब, सामाजिक सुरक्षा र अन्य सुविधा सबै कोणबाट उहाँहरू बढी पीडित हुनुहुन्छ । नेपालको जनसङ्ख्याको झण्डै आधा भाग मानिसहरू श्रम गर्न सक्ने मजदुर मानिएको छ । जसमा अधिकांश मजदुर असङ्गठित क्षेत्रमा काम गर्नु हुन्छ । जसमध्ये ठुलो सङ्ख्यामा कृषि, निर्माण तथा यातायात क्षेत्रमा काम गर्नु हुन्छ ।

आफ्नो श्रमको ज्याला कति हुन्छ, कति पाउनु पर्ने हो, मजदुरको अधिकार के हो भन्ने पनि थाहा पाएका हुँदैनन् । उहाँहरु आर्थिक रूपमा कमजोर हुनु हुन्छ । उहाँहरूले सधैं काम नपाइएला, बेरोजगार होइएला, परिवारका लागि एक छाक टार्न र एक जोर लुगा जोड्न नसकिएला भन्ने चिन्ता बोकिरहेका हुन्छन् ।

– अनिल पराजुली