12/25/2025, 15:36:59
बिहिबार, पुष १०, २०८२

मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु


विराटनगर, पुस १० गते । मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ मा बसोवास गर्दै आउनुभएका २७ वर्षे थापा राति पौने १ बजेतिर दुर्घटनामा पर्नु भएको थियो ।

विराटनगर–४ स्थित एयरपोर्ट लाइनबाट बरगाछीस्थित गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प. ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले जानकारी दिनु भयो ।

दुर्घटनालगत्तै उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् ।

थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेल्दै आउनु भएको थियो । टोलीमा ब्याट्सम्यानको रूपमा उहाँले केही फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाइसकेको परिवारले बताएको छ ।

राष्ट्रिय खेलाडीको असामयिक निधनले परिवार, आफन्त तथा क्रिकेट समर्थकहरू शोकमा छन् । परिवारका अनुसार थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता हुनु हुन्छ भने उहाँ आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै रहनु भएको थियो ।

– शशिधर पराजुली