12/25/2025, 12:02:01
बिहिबार, पुष १०, २०८२

गण्डकीमा राष्ट्रियसभा निर्वाचन : एक्लै लडे कांग्रेस बलियो


लेखनाथ, पुस ८ गते । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनमा दलहरु केन्द्रित भएका छन् । गण्डकीबाट प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)का भगवती न्यौपानेको कार्यकाल सकिँदा ती स्थानमा चुनाव हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा पालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरु मतदाता हुन्छन् । गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ पालिकाबाट एक सय ७० प्रमुख÷उपप्रमुख मतदाता छन् । एक प्रदेशसभा सदस्य रिक्त छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ । स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी गण्डकीको कुल मतभार छ हजार तीन सय ५७ छ ।

प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बलियो देखिन्छ । कांग्रेससँग २७ प्रदेशसभा सदस्य र ६७ पालिका प्रतिनिधि गरी दुई हजार सात सय चार मतभार छ । यहाँ दोस्रो दल एमालेका २२ प्रदेशसभा सदस्य र ६८ पालिका प्रतिनिधि छन् । एमालेसँग दुई हजार चार सय ५८ मतभार छ । बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवबहादुर नेपाली निलम्बनमा परेकाले उहाँले मतदान गर्न पाउनुहुन्न ।

साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका यहाँ सात प्रदेश सभा सदस्य र ३१ स्थानीय तहका प्रतिनिधि गरी नौ सय ६० मतभार छ । माओवादी केन्द्रकै चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा अहिले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा हुनुहुन्छ ।

गण्डकीमा पालिका प्रमुख वा उपप्रमुख नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई प्रदेशसभा सदस्य हनुहुन्छ । अहिलेको एमाले र कांग्रेसको सत्ता गठबन्धनलाई सघाइरहेको राप्रपा र प्रलोपाका सदस्यको मत कता जान्छ यकीन भइसकेको छैन ।

यहाँ दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको राष्ट्रिय जनमोर्चाको ५७ मत छ । मनाङको मनाङ डिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्रबाट विजयी छिरिङ गुरुङ भने पछिल्लो क्रममा एमाले निकट हुनुहुन्छ । अन्य समूह र महिलाबाट एक/एक गरी दुई सांसदका लागि हुने निर्वाचनका लागि दलहरुले तयारी थालिसकेका छन् ।

नेपाली कांग्रेसले जिल्ला जिल्लाबाट सिफारिस भइआएका नाम केन्द्रमा पठाइकसकेको छ । कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले आकांक्षीहरुको सूची केन्द्रमा पठाइएको र चुनावी तयारीमा पार्टी लागिसकेको जानकारी दिनुभयो । अध्यक्ष शर्मा पनि अन्यबाट समानुपातिकमा सिफारिस हुनुभएको छ ।

प्रदेशको दोस्रो ठुलो दल एमाले पार्टीको महाधिवेशनपछि नयाँ रणनीति बनाउँदै छ । एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी पार्टी केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताउनुहुन्छ । “अहिलेसम्म केन्द्रबाट केही निर्देशन आएको छैन, निर्देशन आएपछि तयारी थाल्छौँ,” उहाँले भन्नुभयो ।

नेकपाले भने पुस ११ गतेभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरी पठाउन प्रदेश र जिल्लामा परिपत्र पठाइसकेको छ । नेकपा नेता कृष्ण नेपाली मङ्गलबार बस्दै गरेको पार्टीको प्रदेश कमिटीको बैठकमा आकांक्षीहरुको नामबारे छलफल भएको र चाँडै निर्णय हुने बताउनुभयो ।

निर्वाचनका लागि गण्डकीमा पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयलाई मतदान स्थल तोकिएको छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले प्रदेशसभा सदस्य र पालिका प्रमुख÷उपप्रमुखका लागि फरक फरक मतदान केन्द्र हुने जानकारी दिनुभयो । “निर्वाचन सामग्रीहरु तयार भइसकेका छन्,” उहाँले भन्नुभयो, “निर्वाचन तालिकअनुसार सबै कामअघि बढेका छन् ।

राष्ट्रिय सभा निर्वाचनका मतदाताको नामावली पुस १९ गते प्रकाशन हुनेछ भने पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ । केन्द्रमा बन्ने दलीय समीकरणअनुसार नै राष्ट्रियसभाका चुनाव हुने गरेका छन् ।

– फडिन्द्र अधिकारी