धनकुटा, माघ २८ : कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगरी एक्लै चुनाव लड्ने स्पष्ट पारेकी छन्।
गठबन्धनको राजनीतिले अपेक्षित परिणाम दिन नसकेको र मुलुकलाई नै हानी पुगेको उल्लेख गर्दै उनले अब कांग्रेसको मत रुख चिन्हमा मात्रै हुने बताएकी हुन् ।
कांग्रेस धनकुटाको निर्वाचन प्रचार–प्रसार मूल समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा संग्रौलाले भनिन्, ‘देशलाई स्थायित्व, सुशासन र विकास दिन काँग्रेसलाई जिताउनुको विकल्प छैन, अब भोट रुखमै हाल्नुपर्छ ।‘
उनले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने अभियानसहित पार्टी चुनावमा होमिएको जानकारी दिँदै कांग्रेसका १० दृष्टिकोण सार्वजनिक गरिन्। सुशासन, भ्रष्टाचार नियन्त्रण, युवामैत्री नीति, रोजगारी सिर्जना र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
लाभका पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने, देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने, भौतिक पूर्वाधार विकास तीव्र बनाउने, महिला सशक्तीकरण र युवालाई केन्द्रमा राखेर समुन्नत नेपाल निर्माण गर्ने कांग्रेसको मुख्य एजेन्डा रहेको उनले बताइन्। ‘अब चुनावमा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन, कांग्रेसको रुख चिन्हमा मात्रै मतदान हुन्छ,’ उनले भनिन्, ‘जसको नीति, उसकै नेतृत्व—हाम्रो अर्जुन दृष्टि फागुन २१ को चुनाव मात्रै हो।‘

संग्रौलाले पार्टीभित्र गुटतन्त्र अन्त्य भइसकेको दाबी गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय कांग्रेसको मूल आधार रहेको उल्लेख गरिन्। साथै, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको जानकारी पनि दिइन्।
कार्यक्रममा केन्द्रीय अनुशासन विभाग संयोजक, पूर्वमन्त्री तथा संविधानसभा सदस्य तारामान गुरुङले पार्टीभित्र उम्मेदवार विवाद नरहेको दाबी गर्दै यसपटक ठूलो संख्यामा नयाँ र जिम्मेवार अनुहारलाई अवसर दिइएको बताए। उनका अनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार छन्, जसमध्ये १ सय ६ जना नयाँ अनुहार रहेका छन्।
प्रचार–प्रसार मूल समितिका धनकुटा संयोजक विजय सन्तोषी राईले कांग्रेसले परिवर्तनलाई आत्मसात गर्दै विकास र समृद्धिको चाहना पूरा गर्न सक्ने दाबी गरे।
– विनोद घिमिरे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















