काठमाडौँ, माघ २८ : अन्तर्राष्ट्रिय गायिका तथा अभिनेत्री सेलेना गोमेजले सामाजिक सञ्जाल, सौन्दर्यको दबाब र यसले मानसिक स्वास्थ्यमा पार्ने असरबारे खुलेर आफ्नो धारणा व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमा राम्रो देखिनुपर्ने दबाबले मानसिक समस्या बढ्दै गएको बताएकी छन् ।
सामाजिक सञ्जालमा देखिने तस्बिर र पोस्टहरूले मानिसलाई सधैं राम्रो देखिनुपर्छ भन्ने सोच दिन्छ, जुन वास्तविक जीवनमा नहुने उनले बताएकी छन् । आफूले पनि मानसिक स्वास्थ्यका विभिन्न समस्याहरू भोगेको उल्लेख गरेकी छन् ।

सीएनएनमा प्रकाशित समाचारअनुसार गोमेजले सानै उमेरदेखि सार्वजनिक जीवन बिताउनु पर्दा ठूलो दबाब खेप्नु परेको बताएकी छन् । उनले भनिन्, ‘सामान्य मानिसका लागि पनि किशोरावस्था गाह्रो हुन्छ । तर, जब संसारले तपाइँको हरेक निर्णयमा टिप्पणी गर्छ, त्यो झनै चूनौतीपूर्ण हुन्छ,’ उनले भनेकी छन् । उनले लोकप्रियतालाई सकारात्मक परिवर्तनका रुपमा प्रयोग गर्ने उद्देश्यले मानसिक स्वास्थ्यबारे खुलेर बोल्ने निर्णय गरेको बताइन् ।
गोमेजले सामाजिक सञ्जालबाट बेला–बेला टाढा बस्ने अभ्यास गर्ने पनि बताएकी छन् । सामाजिक सञ्जालमा मानिसहरूले प्रायः आफ्नो जीवनको राम्रो पक्ष मात्र देखाउने भएकाले अरूसँग तुलना गरेर आत्मविश्वास गुमाउनु आवश्यक नरहेको उनले सुझाव दिएकी छन् ।

महिलाका लागि समाजले बनाएका अवास्तविक सौन्दर्य मापदण्डप्रति पनि उनले आलोचना गरेकी छन् । सामाजिक सञ्जालले ‘परफेक्ट’ देखिनुपर्ने दबाब बढाएको र यसले मानिसलाई झनै एक्लो बनाएको उनको भनाइ छ ।
दुई वर्षअघि गोमेजले सौन्दर्य उद्योगमा नयाँ सोच ल्याउने उद्देश्यले ‘रेयर ब्युटी’ ब्रान्ड सुरु गरेकी थिइन् । उनले अब मेकअपलाई सुन्दर देखिनुपर्ने भन्दा पनि आत्म–अभिव्यक्तिको माध्यमका रूपमा हेर्ने बताइन् ।

गोमेजले मानसिक स्वास्थ्य समस्या भोगिरहेका सबैलाई ‘व्यक्ति एक्लो छैन’ भन्ने सन्देश दिएकी छन् । सौन्दर्यभन्दा पनि आत्म–स्वीकार्यता र मानसिक सन्तुलनलाई प्राथमिकता दिन उनले आग्रह समेत गरेकी छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












