३२ असार, काठमाडौं : पपस्टार बियोन्सेको रिलिज नभैसकेको संगीत समावेश हार्डड्राइभ र अन्य सामग्री चोरी भएको छ ।
प्रहरीका अनुसार गतसाता एटलान्टामा आयोजित ‘काउब्वाय कार्टर’ टूरको क्रममा बियोन्सेका कोरियोेग्राफरले भाडामा लिएको कारभित्र ती सामग्री राखिएको थियो । जुलाई ८ मा उक्त चोरी भएपछि आफूहरूलाई यसबारे फोन प्राप्त भएको प्रहरीले जनाएको छ ।
‘उनीहरूसँग मेरो कम्प्युटर छ । त्यहाँ साँच्चै महत्वपूर्ण जानकारी पनि छन्’ ९११ नम्बरमा एक अज्ञात व्यक्तिले गरेको फोनकलमा भनिएको छ, ‘म उच्च ओहदाको व्यक्तिसँग काम गर्छु । यसका लागि मलाई कम्प्युटर चाहिन्छ ।’
प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेअनुसार, बियोन्सेका कोरियोग्राफर क्रिस्टोफर ग्रान्ट र उनका ब्याकअप डान्सर डायन्ड्रे ब्लूसँग सम्बन्धित दुई सुटकेस भाडामा लिइएको जीप वागोनियरबाट चोरी भएको थियो । चोरी भएका सामानमा वाटरमार्क गरिएको संगीत, अप्रकाशित संगीत, फुटेज, विगत र भविष्यका सेट लिस्ट समावेश दुई ल्यापटप र हार्ड ड्राइभहरू पनि समावेश रहेको रिपोर्टमा उल्लेख छ ।
प्रहरीले बताएअनुसार एक नाम नखुलाइएको संदिग्ध व्यक्तिलाई पक्राउ वारेन्ट जारी गरिएको छ । रिपोर्टअनुसार, ग्रान्टले गाडीबाट ४१,००० मूल्यको लुगा, ४५०० मूल्यको टम फोर्डको चश्मा र ४७५० मूल्यको टुमी बुक ब्याग पनि चोरी भएको बताएका छन् । ब्लूले म्याकबुक एयर र हेडफोनको एक जोडी चोरी भएको पनि बताए ।
जुलाई १०, ११ र १३ मा मर्सिडीज-बेन्ज स्टेडियममा प्रस्तुति दिएपछि बियोन्सेले आउने सोमबार राति एटलान्टामा आफ्नो चौथो तथा अन्तिम कन्सर्ट गर्ने तय भएको छ । जुलाई २५ मा लस भेगासमा प्रस्तुति दिने कार्यक्रम छ ।