४ जेठ, काठमाडौं : टम क्रुज स्टारर एक्सन-स्पाइ फिल्म ‘मिसन इम्पोसिबल’को आठौं श्रृंखला ‘द फाइनल रेकोनिङ’लाई लिएर विश्वभर पर्खाइ छ । नेपालसहित विश्वभर आउँदो शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।
भारतमा भने यो फिल्म गत शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ । भारतीय बक्सअफिसमा यसले शुक्रबार आक्रामक ओपनिङ गरेको छ । यो फिल्म भारतमा सन् २०२५ मा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्म बनेको छ । भारतीय फिल्मको बक्सअफिस ट्रयाकर स्याकनिल्कका अनुसार फिल्मले शुक्रबार १७.५० करोड भारु कमाइ गरेको छ । सबै भाषामा टम क्रुजको उक्त फिल्मले कमाइ गरेको द इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।
विश्लेषकले यो फिल्मले १६ देखि २० करोड भारुसम्म ओपनिङ गर्ने अनुमान गरेका थिए । भारतमा यो फ्रेन्चाइजको लोकप्रियता र बलियो एड्भान्स बुकिङले फिल्मले आक्रामक ओपनिङ गरेको विश्लेषण गरिएको छ । यसवर्ष भारतमा रिलिज भएका अन्य अन्तर्राष्ट्रिय फिल्मको ओपनिङलाई उछिन्दै ‘द फाइनल रेकोनिङ’ले यति कमाइ गरेको हो । यसले यस शुक्रबारदेखि प्रदर्शनमा आएको हलिउडकै ‘द फाइनल डेस्टिेनेसन : ब्लडलाइन्स’ र मार्वलको ‘थन्डरबोल्ट्स’ को कमाइलाई समेत उछिनेको छ ।
यो फिल्मले समग्रमा सकारात्मक समीक्षा प्राप्त गरेको छ । यसैसाता कान्स फिल्म फेस्टिभलमा समेत प्रिमियर भएको यो फिल्मको एक्सनसहितका पक्षलाई दर्शकले रुचाएका छन् ।