१४ साउन, काठमाडौं : हलिउडको इतिहासमै सर्वाधिक सफल सिनेमा शृंखला ‘अवतार’को तेस्रो भाग ‘अवतार: फायर एन्ड एस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । जेम्स क्यामरुनले निर्देशन गरेको यो सिनेमाको ट्रेलरले पुनः प्यान्डोराको विश्वमा दर्शकलाई लिएर गएको छ, जहाँ योपटक अझै गहिरो द्वन्द्व, नयाँ पात्र र सभ्यताको झलक पाइन्छ ।
ट्रेलरमा के छ विशेष ?
सिनेमाको २ मिनेट २५ सेकेन्ड लामो ट्रेलरमा समावेश गरिएको दृश्यहरूले प्यान्डोराको अनौठो र चमत्कारीक प्रकृति, नयाँ जनजाति, र शक्तिशाली शत्रुहरूको संकेत दिएको छ । यसपटक ‘अग्नि’ र ‘राख’को प्रतीकात्मक प्रयोगमार्फत मानवीय लोभ, संघर्ष र पृथ्वीवासीहरूसँग प्यान्डोरा वासीहरूको टकराव झन् चर्किएको देखिन्छ।
नयाँ पात्र र कथावस्तु
ट्रेलरमा नयाँ जनजातिको रहस्यमयी पात्रहरू देखिएका छन्, जसले प्यान्डोराको पश्चिमी क्षेत्र सम्हालेको बुझिन्छ । उनीहरूका संस्कार, भाषा र शक्तिको झलक ट्रेलरमा पाइन्छ । नायक ‘जेक सुली’ र ‘नेयतिरी’ एकपटक फेरि परिवार र प्यान्डोराको अस्तित्व जोगाउन लडिरहेको देखिन्छन् ।
प्राविधिक पक्ष अझ उचाइमा
भिजुअल इफेक्ट र साउन्ड डिजाइन अघिल्ला दुई भागभन्दा झनै उन्नत देखिन्छ। ‘विजुअल सिनेमाको भविष्य’ भनेर चिनिएको ‘अवतार’ श्रृंखलाले फेरि पनि प्राविधिक क्षमताको उच्चतम स्तर प्रदर्शन गरेको छ । पानी, आगो, र प्यान्डोराको विविध पर्यावरणलाई यथार्थ झैँ देखाइएको छ।
सिनेमा कहिले आउँदैछ?
‘अवतार ३’ सन् २०२५ को १९ डिसेम्बरमा विश्वभर प्रदर्शन हुने घोषणा गरिएको छ। ट्रेलरको सार्वजनिकतासँगै विश्वभरका दर्शकहरूमा सिनेमाप्रति उत्सुकता थपिएको छ।