02/11/2026, 10:05:01
बुधबार, माघ २८, २०८२

गोदावरी नगरपालिकाका इन्जिनियर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ, माघ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको हो । विष्टले पदीय मर्यादाविपरीत भ्रष्टाचार गरी एक करोड ९७ लाख रुपियाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको आयोगले ठहर गरेको छ ।

विष्टले सेवा प्रवेश गरेको मिति २०७६ फागुन १ देखि २०८१ साउन १४ गतेसम्मको जाँच अवधिमा आफ्नो आम्दानीको अनुपातमा अत्यधिक बढी खर्च र लगानी गरेको आयोगको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानक्रममा इन्जिनियर विष्टको वैध आय जम्मा एक करोड २७ लाख ७४ हजार ६७३ रुपियाँ २९ पैसा देखिएको छ । तर सोही अवधिमा निजले घर–जग्गा खरिद, सेयर लगानी, छोराको अध्ययन खर्च र बैङ्क मौज्दातसहित कुल तीन करोड २४ लाख ८४ हजार ८३० रुपियाँ ९२ पैसा खर्च तथा लगानी गरेको भेटिएको छ ।

आयोगले इन्जिनियर विष्टसँग एक करोड ९७ लाख १० हजार १५७ रुपियाँ ६३ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिबाना माग दाबी गरेको छ । सुवासले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति बाबु सुदर्शनको नाममा राखेको र उक्त सम्पत्ति प्रयोग एवं प्रचलनमा बाबुको समेत संलग्नता देखिएकाले निजलाई पनि सजाय र बिगो जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ ।