02/11/2026, 09:55:41
बुधबार, माघ २८, २०८२

नेपालमा वायु प्रदूषण फेरि उच्च


काठमाडौँ, माघ २८ गते । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँ लगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो ।

मङ्गलबार बिहान मात्र काठमाडौँमा बाहिर निस्केर सास फेर्न नमिल्ने गरी वायुको गुणस्तर अस्वस्थकर रेकर्ड भएको थियो । लामो समय राम्ररी वर्षा नहुँदा वायुमण्डलमा थिग्रिएर बसेका धुलोका कणसँगै नयाँ कण थपिँदा यहाँको वातावरण प्रदूषित बन्दै गएको हो । गत साता हल्का वर्षा हुँदा पानीसँगै खसेका धुलोका कण फेरि आकासिएर तल्लो वायुमण्डल धुमिल बनाएको देखिएको वातावरण विभागले जनाएको छ ।

वातावरण निरीक्षक प्रकाश केसीका अनुसार वायु प्रदूषण खतराको तहनजिक पुगेको हो । उहाँले भन्नुभयो, “अबका दिनमा डढेलोसँगै सहरी प्रदूषण बढेको खण्डमा खतराको तह पार गर्न सक्दैन भन्न सकिन्न ।” उहाँले भन्नुभए जस्तै काठमाडौँको वातावरण केही दिनदेखि धुम्म र धुमिल छ । बदलीका कारण आकाश पूरा नखुलेकाले पनि तल्लो वायुमण्डलको प्रदूषणयुक्त वायु माथि जान नसकेको मौसमविद् सञ्जीव अधिकारी  बताउनुहुन्छ ।

वातावरण विभागका अनुसार काठमाडौँआसपास दक्षिणकाली क्षेत्रमा डढेलो लागेकाले पनि प्रदूषण बढेको हो । यतिखेर बर्खे बालीका लागि खेतबारी तयार हुँदै छ । यस्तोमा किसानले खेतका झारपात जलाउने क्रम बढेको छ । खेतबारी जोत्ने, खन्ने काम भइरहेकाले त्यसबाट पनि हावाले माटोका मसिना कण उडाएर वायुमण्डललाई प्रदूषित गराउने विभागले औँल्याएको छ ।

वायु गुणस्तर अनुगमन प्रणालीले देखाए अनुसार प्रतिघण्टा र प्रति २४ घण्टाको अवस्थाले पनि काठमाडौँ मात्र नभएर देशका विभिन्न स्थानको वायु अस्वस्थकर देखाइरहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी अस्वस्थकर वायु इलाममा रेकर्ड भएको छ । त्यहाँको वायु गुणस्तर सूचक १९६ बाट माथि चढ्दै छ । इलामकै प्रतिघण्टाको वायु गुणस्तर चक्र पनि १९० भन्दा माथि चढ्दै अस्वस्थकरबाट अति हानिकारकतर्फ उकासिँदै गएको देखिन्छ । त्यसपछि काठमाडौँ, रत्नपार्क क्षेत्रको वायु अत्यधिक प्रदूषित देखाएको छ । गत २४ घण्टाको सूचकले १७० आसपास देखाएको छ । प्रतिघण्टाको गुणस्तर सूचक पनि १५५ माथि छ ।

यीबाहेक दाङ, सुर्खेत क्षेत्रको वायु गुणस्तर पनि खतराको तहतिर अग्रसर हुँदै गएको छ । काठमाडौँबाहेक उपत्यकाको भक्तपुर, खुमलटार क्षेत्रको वायु गुणस्तर सूचक पनि १६० आसपासबाट उकासिँदै गरेको देखिन्छ । नेपाल सरकारले तोके अनुसार वायु गुणस्तर सूचक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील, १५१ देखि २०० अस्वस्थकर मानिन्छ । यसभन्दा माथि पुग्दा अति अस्वस्थकर र ३०० माथि पुगेपछि भने घरबाट बाहिर निस्कन नमिल्ने गरी अति हानिकारक मानिन्छ ।

भारतको दिल्लीको वायु प्रदूषणले खतराको तह पार गर्दै अति हानिकारकमा दर्ज भइरहेको छ । बङ्गलादेशको वायु प्रदूषणले भारतलाई पछ्याउँदै दोस्रोमा छ भने काठमाडौँ दसौँ स्थानबाट माथि उक्लने तर्खरमा रहेको प्रतिमिनेट बढ्दै गएको वायु प्रदूषणको गुणस्तरले देखाउँछ ।

– चाँदनी हमाल