एजेन्सी, माघ २८ गते ।क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेको एक हाई स्कुलमा बुधबार बिहान अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा २५ जना घाइते भएका छन् भन्ने जानकारी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका छन्।
गोलीकाण्डपछि टम्बलर रिज माध्यमिक विद्यालय तत्कालका लागि बन्द गरिएको छ। मृतकमध्ये कोही विद्यार्थी छन् कि छैनन् भन्ने विषयमा अझै आधिकारिक पुष्टि भइसकेको छैन।
स्थानीय विधायक ल्यारी न्युफेल्डका अनुसार घटनालाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा परिचालन गरिएको थियो। उनले आफ्ना आफन्तको खोजीमा घरबाहिर ननिस्कन र सुरक्षित रहन स्थानीय बासिन्दालाई आग्रह गरेका छन्।
क्यानडाको सरकारी वेबसाइटका अनुसार उक्त विद्यालयमा कक्षा ७ देखि १२ सम्मका करिब १७५ विद्यार्थी अध्ययनरत छन्।
रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का उत्तरी जिल्ला कमान्डर केन फ्लोयडले अवस्था गम्भीर रहेको जनाउँदै स्कुल प्रशासन, आपत्कालीन टोली र स्थानीय समुदायको सहयोगमा घटनाको व्यवस्थापन भइरहेको बताएका छन्।
प्रहरीका अनुसार स्कुलमा गोली प्रहार भएको खबर स्थानीय समयअनुसार मध्यराति १:२० बजे प्राप्त भएको थियो। जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा प्रवेश गर्दा धेरै मानिस घाइते तथा मृत अवस्थामा फेला परेका थिए।
प्रहरीले आक्रमणकारी ठानिएका एक व्यक्ति पनि मृत अवस्थामा फेला परेको पुष्टि गरेको छ। स्कुलभित्र रहेका सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको र हाल उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।
घटनाको विस्तृत कारण र पृष्ठभूमिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















