12/15/2025, 17:58:30
सोमबार, मङि्सर २९, २०८२

एआई अर्थतन्त्रको नयाँ इन्जिन


विश्वको आर्थिक आयाम अनेक इतिहासले मार्गनिर्देश गरेको छ । पश्चिमा संसार धेरै पछाडि हुँदा कौटिल्य इसापूर्व (३७०–२८३) को अर्थशास्त्रले आर्थिक उत्थानका आधार रेखा कोरिसकेको थियो । युरोपले औद्योगिक क्रान्तिको धेरै अघि नै कौटिल्यको अर्थशास्त्रले भारत वर्षमा ज्ञान र प्रयोगले विस्तार पाएको भन्न सकिन्छ । चन्द्रगुप्त मौर्यको सल्लाहकार चाणक्यको आर्थिक दर्शनले भारत वर्ष प्रभावित थियो । कृषि, उद्यम र व्यापारले धनी थियो । भारत मात्र होइन, उत्तरी छिमेकी चीनसमेत समृद्ध थियो । चाणक्य विचारले भारत वर्ष प्रभावित थियो भने कम्फुसियस (इसापूर्व ५५१–४७९) विचार चीनको आर्थिक सामाजिक सम्यताको जग थियो । चाणक्यले अर्थशास्त्रको सिद्धान्तसँगै लोककल्याणकारी राज्यको अवधारणा विकास गरेका थिए । चाणक्यले अर्थशास्त्रलाई राज्यको आय, उत्पादन र खर्चसँग जोडेका थिए ।

नवप्रर्वतनमा निरन्तरता दिई रणनीतिक योजनाबाटै राज्य बलियो हुने अवधारणा कति समृद्ध थियो चाणक्य युगमा ? समयको व्यवस्थापन, काममा लगाव, असल नीतिले जनतालाई कामप्रति प्रतिबद्ध बनाउने दृढतामै नेतृत्वको पारख हुने अवधारणा आज पनि उपयोगी छ । यसबाटै धन, सफलता, जीवन सुखमय हुने असल विचार शताब्दीऔँ अघिको कौटिल्य विचारले अहिलेको कृत्रिम बौद्धिकता (एआई) युगमा नेपाल जस्ता विकासशील मुलकलाई समेत निरन्तर नवप्रवर्तनमा अग्रसर हुन प्रेरित गर्न सक्छ ।

दक्षिणमा चाणक्य, उत्तरमा कम्फुसियस र नेपाली भूमिमा गौतम बुद्ध त्यस युगको उच्चतम चेतनालाई प्रतिनिधित्व गर्छ । ज्ञानको प्रसारलाई प्रतिनिधित्व गर्छ तर पूर्वीय सभ्यताले ज्ञानलाई प्रविधिसँग जोड्न सकेन । अस्थिरतामा अलमलियो । औपनिवेशिक कालो बादलले ढाक्यो । प्रविधि विकासमा पछाडि प¥यो तर अढाई सय वर्षयता पश्चिमा संसारले प्रविधिको उच्चतम विकास गर्न सक्यो । औद्योगिक क्रान्ति विज्ञान र प्रविधिको जगमा उभियो । १८ औँ शताब्दीमा ग्रामीण र कृषि समाजलाई युरोपमा औद्योगिक विकास र सहरी समाजमा रूपान्तण गर्न सक्यो ।

कोइलाबाट पानी तताएर बाफमा परिणत गरी त्यसैबाट इन्जिन चलाइ उद्योगधन्दाको विकासले पहिलो चरणको औद्योगिक क्रान्तिको प्रतिनिधित्व गर्छ । कोइलाको प्रयोग जीवाश्म इन्धनको उच्चतम प्रयोग थियो । युरोप अहिले त्यस युगमा छैन तर अहिले पनि कोइलाको प्रयोगले चीन तथा भारतका अर्थतन्त्र ठुलो अंशमा निर्भर छन् । जलवायु परिवर्तनको असर आफू र बाँकी विश्वलाई प्रभाव पारिरहेकै छन् । तथापि भारत र चीन नवप्रर्वतन युगमा तीव्रत्तर सङ्क्रमणमा पनि छन् ।

पहिलो चरणको औद्योगिक क्रान्तिलाई विद्युत्को आविष्कारले नयाँ चरणको औद्योगिक विकासको युगमा परार्वतन गर्न सक्यो । ग्यास र जीवाश्म इन्धनको आविष्कार भयो । यसले संसारलाई दोस्रो चरणको औद्यागिक विकासमा लग्न सक्यो । प्रविधिको विकास व्यापक हुन सक्यो । गुड्ने सवारीसाधनदेखि उड्ने जहाजसम्म यसै युगका उत्पादन हुन । कम्युटर युगले चार दशकअघि संसारलाई डिजिटल युगमा प्रवेश गरायो, नयाँ चरणको आर्थिक विकासमा पु¥यायो । कम्युटरको विकासले नयाँ आधार सिर्जना मात्र गरेन, मानिस, प्रविधि र दिगो विकासको आधारले उद्योग ४.० को मैदान बनायो ।

अहिले यो युग पनि लगभग अन्तिमतिर भएको आकलन गरिँदै छ । कृत्रिम बौद्धिकता (एआई) को व्यापक प्रयोग वर्तमान विश्व अर्थतन्त्र नयाँ युगको सङ्क्रमणतर्फ छ । त्यसैले कतिपयले अब विश्व उद्योग ५.० को सँघारमा रहेको निष्कर्ष निकाल्दै छन् । अबको आर्थिक वृद्धिको इन्जिनको रूपमा एआई प्रयोगको तीव्रतामा निर्भर हुने निष्कर्षमा छन् आधुनिक अर्थशास्त्री ।

औद्योगिक क्रान्तिले यो दुई अढाई सय वर्षमा संसारलाई तीव्रत्तर विकासको पश्चिम केन्द्रित आयाम रह्यो तर अब फेरि युरोप तथा अमेरिकाको विकास बिस्तारै एसियातिर सरेको देखिँदै छ । चीन र भारतको अर्थतन्त्र उदाउँदै छन् । भारत र चीन समृद्ध हुँदा इतिहासको कालखण्डमा नेपालले त्यसको लाभ लिन सकेको देखिन्छ । राजधानी काठमाडौँका विगतमा विभिन्न कालखण्डमा निर्माण भएका मठमन्दिर, दरबार, पानीको आपूर्ति प्रणाली आदिले सोही आधार देखाउँछ । उत्तर र दक्षिणको व्यापारको मुख्य केन्द्र थियो नेपाल, विशेष गरी काठमाडौँ । चाणक्यले नेपालको ऊन र ऊनबाट बनेका उत्पादनको चर्चा गर्नुले नेपाली उत्पादन, सिप र कलाको पारख उतिखेरै पाउन सकिन्छ ।

ललितपुरको पाटन कृष्ण मन्दिर वरपरका सम्पदा, जमिनको सतहभन्दा धेरै तल सदाबहार ढुङ्गे धारा, धाराबाट निरन्तर पानी, त्यो पानी नजमी जमिनमुनि नै हुने निकास आदिले त्यस बखतको उच्च इन्जिनियरिङ देखाउँछ । सयौँ वर्षअघिको पशुपति मन्दिर र त्यस वरपरको सम्पदाले पनि नेपालको त्यस बखतको सिप, कौशल र समृद्धिको उचाइ देखाउँछ । त्यो लाभमा चीन र भारतको समृद्धिको व्यापारिक प्रतिफल हुन सक्छ ।

विगतको अर्थतन्त्र इतिहास केलाउँदा ज्ञानलाई प्रविधिमा रूपान्तरण गरेर अगाडि बढ्दा मात्र आर्थिक विकासले अग्रता दिएको देख्न सकिन्छ । लिच्छवि तथा मल्ल कालको नेपाली कलाकौशल, सिप र ज्ञानमा प्रविधि जोड्दै रूपान्तरण गर्न सकिएन, हामी पछाडि प¥यौँ । नेपालकै खानीमा फलाम उत्खनन गरी हतियार बनाउने हाम्रा विश्वकर्माको सिप, दक्षता र तागतलाई निरन्तरता दिन सकिएन । नवप्रवर्तनमा लैजान सकिएन । नेपाली छालाबाटै जुत्ता सिउने, यहीको कपास, जुट, अल्लो आदिबाट कपडा बन्ने सिप र कौशललाई आधुनिक प्रविधिसँग जोड्न नसक्दा आयातित वस्तुमा निर्भरता बढ्दै गएको छ । अब नेपालले छिमेकी अर्थतन्त्रबाट लाभ लिन सक्ने गरी अगाडि बढ्नु पर्छ । विश्वको नवप्रर्वतनबाट लाभ लिन अर्थतन्त्रलाई नवीन प्रविधिसित जोड्न सक्नु पर्छ ।

आधुनिक प्रविधिले संसारलाई तीव्रत्तर विकासमा लगेको छ । यो तीव्रत्तर विकासलाई कृत्रिम बौद्धिकताले अति प्रभावी बनाउँदै छ । विगत विकासका तिनै चरण वाष्प इन्जिन, विद्युत्मा आधारित उद्यम, कम्प्युटरमा आधारित डिजिटल विकासलाई अहिले कृत्रिम बौद्धिकताले प्रतिस्थापन गर्दै छ । ठुलठुला डाटाको क्षणभरमै प्रशोधन गरी चाहिएको नतिजा दिन सकिने भएको छ । सम्पूर्ण घरेलु उपकरण आइवटी अर्थात् इन्टरनेटमा आधारित चिजवस्तुमा रूपान्तरण भइरहेका छन् । सेन्सरका आधारमा चल्ने उपकरणले प्रतिस्थापन गर्दै छ । मानव जनशक्तिलाई आदेशपालक रोबर्ट मात्र होइन, अल्गोरिदममा आधारित स्मार्ट रोबटले रूपान्तरण गरिरहेका छन् । मानव जनशक्तिले अब एआई आधारित ज्ञान, सिप र अवधारणा तथा क्षमता विकास गर्न सकेन भने ठुलो समस्या आउन सक्ने भएको छ ।

अर्थतन्त्रका आयाम अब एआईमा आधारित हुँदै छन् । विकाससित देश मात्र होइन, नेपाल जस्ता विकासशील मुलुक पनि अब एआईको अभ्यास, उपयोग, सदुपयोग गर्दै जानुपर्ने भएको छ । एआईको दुष्प्रभावबाट बच्न सकिएन भने अहिले सामाजिक सञ्जालको दुरुपयोगले समाजलाई पारेको दुष्प्रभाव भोलिको पूर्ण एआई युगमा अझ बढी जोखिम बढ्न सक्ने छ ।

एआईले अर्थतन्त्रका सबै जसो आयामलाई प्रभावित गर्न थालेको छ । एआईले अर्थतन्त्रलाई तीव्रत्तर रूपमा आर्थिक वृद्धिलाई प्रवर्धन गरिरहेको छ । उद्यम-व्यवसायलाई एआई आधारमा पुनर्संरचना गर्न सकिएन भने विस्थापन हुन सक्ने जोखिम बढेको छ । उत्पादनका आधार अध्ययनमा एआईको प्रयोगले समय, स्रोतसाधनको लागत घट्न सक्ने छ । एआईको प्रयोगले लागत न्यूनीकरण भई उत्पादन बढ्न सक्ने छ । यसले नवप्रवर्तनलाई बढोत्तरी दिन सक्ने छ । बैङ्क तथा वित्तीय क्षेत्रमा अटोमेसनले धेरै परिवर्तन भएको छ र एआईको सही प्रयोगले यो क्षेत्रमा चामत्कारिक लाभ दिन सक्ने आकलन हुँदै छ ।

एआईमा आधारित अटोमेसनले भोलिका दिनमा झनै ठुलो लाभ हुने छ । विशेष गरी सेवा क्षेत्रमा आउन सक्ने लाभ र जोखिमको अझै सही आकलन हुन सकेको छैन । सूचना सङ्कलन गर्न मात्र होइन, योजना बनाउन, निर्णय गर्न, बजार अन्वेषण गर्न, उपभोक्ताको रुचि, चाहना र बजार सम्भावना थाहा पाउन पनि एआईको सही प्रयोगले ठुलो लाभ दिन सक्ने देखिँदै छ । यसले लागतलाई न्यूनीकरण गरी व्यावसायिक प्रतिस्पर्धालाई बढाउने छ ।

नेपालले एआई नीति बनाएर लागु गरेको छ तर अर्थतन्त्रका सबै जसो आयामलाई सूचना, प्रविधिमैत्री बनाउन पर्याप्त पूर्वाधार विकास हुन सकेको छैन । प्रविधि पुरापुर बाह्य निर्भरतामा छ । नवप्रर्वतनका उद्यमव्यवसायमा बाह्य लगानी ल्याई देशभित्रै उत्पादन गर्न सक्ने दिशातिर हाम्रा प्रयासको अभाव छ । जलविद्युत्मा स्वनिर्भर हुँदै गएको नेपालले एआईमा आधारित उद्यमव्यवसाय र लगानी आकर्षित गर्न सक्ने जानकारको बुझाइ र भनाइ छ ।

केही दिनअघि ललितपुरमा आयोजना गरिएको एआई र यसको भावी उपयोग एक कार्यक्रममा विज्ञको भनाइमा नेपालको हिमाली तथा पर्वतीय जलवायु, भूगोल एआईमा आधारित उद्योगका निम्ति अति नै उपयोगी छन् । बाह्य लगानी ल्याउन सकिन्छ । आन्तरिक लगानी प्रवर्धन गर्न सकिन्छ । नेपालमै बसेर विश्वका कतिपय देशका कम्पनीका निम्ति काम गर्न सकिन्छ । नेपालमै बसेर आफूले जर्मनीका एआई कम्पनीका निम्ति काम गरी राम्रो आर्जन गरिरकेको अनुभव पनि उपयोगी देखिएको छ ।

एआईले नेपालमा नयाँ रोजगारी सिर्जना गर्न सक्ने विज्ञको विश्वास छ । नेपालमै बसेर विश्वका धनी मुलुकका कम्पनीले यहाँ लगानी गर्न सक्ने छन् । नेपालमै बसेर सूचना प्रविधिका कम्पनीमा काम गर्न सकिने छ । यहाँको सस्तो जीवनशैलीले नेपालमा कम्पनी राख्न, यहाँको उत्पादन लैजान तुलनात्मक लाभमा फाइदा हुने छ । सूचना प्रविधिमा आधारित अध्ययन अध्यापनका निम्ति पनि काम गर्न सकिने छ ।

नेपालको कृषि, पर्यटन, जलसम्पदा, जडीबुटी, जैविक विविधितालगायतमा एआई आधारित व्यवसाय र सम्भावना प्रवर्धन गर्न सकिने छ । वित्त र बैङ्किङका साथै स्वास्थ्य सेवामा पनि एआईको प्रयोगले नेपालले सेवाको नयाँ क्षेत्रमा अगाडि बढ्न सक्ने छ । व्यावसायिक सेवाको आउट सोर्सिङ सेवा दिने पनि सक्ने छ । एआईको दुरुपयोग रोक्न सबै क्षेत्रमा आचारसंहिता, प्रयोगको नीति भने तयार गरिनु पर्ने छ ।

अबको अर्थतन्त्र एआईमा आधारित हुँदै छ । छिमेकी दुवै अर्थतन्त्र एआई प्रवर्धित हुँदै छन् । नेपाल उत्तरी छिमेकी चीन दोस्रो ठुलो अर्थतन्त्र त हुँदै हो, साथै विश्वकै पहिलो अर्थतन्त्र बन्ने लक्ष्यतर्फ उन्मुख छ । एआईमा आधारित विकासलाई चीनले उच्च महत्व दिएको छ । अन्वेषण र नवप्रर्वतनमा अगाडि जाँदै छ । अमेरिकासँग उसको स्पर्धा व्यापार युद्ध हुँदै अहिले बिस्तारै सन्तुलनमा आउँदै छ । अमेरिकासँग चीनको सम्बन्ध सुधार र व्यापार युद्ध स्थगनले नेपाललाई पनि लाभ मिल्न सक्छ ।

कुल गार्हस्थ उत्पादनका आधारमा दक्षिणी छिमेकी भारत विश्वको चौथो ठुलो अर्थतन्त्र भएको छ । प्रविधिमा आधारित अर्थतन्त्रतर्फ भारतको अग्रसरता झनै रोचक र तीव्रत्तर छ । तीन दशकमा भारत र चीनको उच्चतम प्रविधिमा आधारित प्रगतिबाट आउने दिनमा नेपालले लाभ लिन सक्ने सम्भावना छ तर त्यसका निम्ति तयारी, तत्परता, सुनिश्चित योजना र रणनीति वाञ्छनीय छ ।

– जुनारबाबु बस्नेत
( उहाँ गोरखापत्र दैनिकको नि. प्रधानसम्पादक हुनुहुन्छ । )