02/22/2026, 10:13:50
आइतबार, फागुन १०, २०८२

रास्वपा दाङका अध्यक्षलाई आयोगको स्पष्टीकरण


काठमाडौँ, फागुन १० गते । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्लाका सभापतिलाई स्पष्टीकरण सोधेको छ ।

दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को झन्डा जलाउँदै सो पार्टीका अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गर्दै नाराबाजी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । सो सम्बन्धमा आयोगमा सूचना/उजुरी प्राप्त भएकोले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आयोगको स्पष्टीकरणपत्रमा रास्वपाका तर्फबाट आयोजित चुनावी कार्यक्रममा एमालेका अध्यक्षका विरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी भएको हो वा होइन ?  भन्ने विषयमा पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ ।

आयोगले कुनै पनि दलको झन्डा जलाउने र अन्य दलका जो कोहीविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गर्ने कार्य निर्वाचन आचारसंहिता, २०८२ विपरीत रहेको  पनि स्मरण गराएको छ । आचारसंहिताको दफा ४ को खण्ड (ण) मा कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने  उल्लेख छ ।

साथै आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ङ) मा कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्‍याउन नहुने  उल्लेख गरिएको छ ।