12/25/2025, 22:29:05
बिहिबार, पुष १०, २०८२

सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द हटाइँदै


नेपालगन्ज, पुस १० गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका अस्वाभाविक शब्दहरु हटाउने र मेटाउने अभियान सञ्चालन गरेको छ ।

सवारी साधनहरुमा लेखिएका विभिन्न अस्वाभाविक र अश्लील शब्दहरुका कारण सवारी साधन चलाउँदा चालकको ध्यान भङ्ग भइ दुर्घटनाको जोखिम बढ्न सक्ने जनाउँदै सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द, वाक्य तथा विभिन्न कोटेशन हटाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताउनुभयो ।

उहाँले सवारी साधनमा लेखिएका त्यस्ता आपत्तिजनक, भ्रामक तथा ध्यान विचलित गर्ने शब्द तथा वाक्यहरूले चालक तथा अन्य सवारी प्रयोगकर्ताको ध्यान सडकभन्दा अन्यत्र मोडिन सक्ने भन्दै यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई शब्द र लेखाइ हटाउन तथा मेटाउने कार्य भइरहेको बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरणका लागि सवारी नियमको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै यस्ता शब्दहरु अब उप्रान्त नलेखाउन चेतावनी समेत दिइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहीले बताउनुभयो ।

यो अभियानलाई निरन्तरता दिइने समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अतिरिक्त सीट बनाउने, मोटरसाइकलको बास्तविक आवाज मोडिफाई गरी ध्वनि प्रदूषण गर्ने र अनावश्यक साइरन बजाएर अरुलाई डिस्टर्व गर्नेलाई नियमन गर्नुका साथै ट्राफिक सचेतना फैलाउँदै आएको छ ।

ट्राफिक नियम विपरित सार्वजनिक सवारी साधनमा थप गरिएको अवैध सिट हटाउने अभियान समेत जारी रहेको कार्यालय प्रमुख शाहीले जनाउनुभयो । त्यसैगरी ध्वनि प्रदूषण गर्ने र सर्वसाधरणमा आतङ्क सिर्जना गर्ने मोटरसाइकललाई समेत कारवाही गरिएको जनाउँदै ओभरलोड बोक्ने सवारी साधनलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेर अनलोड गरी पठाउँदैआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

– सिराज खान