01/21/2026, 20:57:32
बुधबार, माघ ०७, २०८२

माधव नेपालविरुद्धको उजुरी दरपीठ


काठमाडौँ, माघ ७ : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट-१ बाट दिएको उम्मेदवारीविरुद्ध परेको उजुरी दरपीठ भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध बुधबार उजुरी परेको थियो । पतञ्जलिको जग्गा भ्रष्टाचारका अभियुक्त बनाएर नेपालविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको थियो ।

पूर्वप्रधानमन्त्री नेपालको उम्मेदवारी मनोनयनपत्र खारेजीको मागसहित उजुरी परेकोमा दर्ता भएन । मुख्य निर्वाचन अधिकृत मनोज केसीले नेपालविरुद्ध आएको उजुरी दरपीठ गरिदिएको बताए । ‘पतञ्जलिको जग्गा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेको भन्दै उम्मेदवारी खारेजीको मागसहित उजुरी आएको थियो । मैले उजुरीको पछाडि कारण लेखेर दरपीठ गरिदिएको छु,’ केसीले भने ।

मुद्दा विचाराधीन रहेकाले भ्रष्टाचार मुद्दामा दोषी मान्न नमिल्ने कानुनी सिद्धन्त रहेको भनी उजुरी दरपीठ भएको केसीले बताए । त्यस्तै, निर्वाचन कानुन अनुसार पनि उम्मेदवारी ठिक भएकाले उजुरी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जानकारी दिएको छ ।