02/06/2026, 16:06:45
शुक्रबार, माघ २३, २०८२

रास्वपालाई रक्षाको प्रश्न– बालिकाको ज्यान जाँदा पनि एमाले जस्तै गैरजिम्मेवार बन्ने ?


काठमाडौँ,  माघ २३ गते ।जेन–जी अगुवा रक्षा बमले रास्वपाका उम्मेदवारको गाडीले चार वर्षीया बालिकाको ज्यान लिएको घटनामा गम्भीर प्रश्न उठाएकी छिन् । गाडीको अगाडि भागले ठक्कर दिएपछि पछाडिको भागले किचेर ज्यान लिएको भन्दै उनले यस अघि एमालेका मन्त्रीको जस्तै बचाउमा नउत्रिन भन्दै उनले प्रश्न उठाएकी हुन् ।

‘सबैभन्दा पहिले, कुनै पनि राजनीतिक दलमा आबद्ध हुनुहुने साथीहरूलाई यत्ति भन्न चाहन्छु कि, आफ्नो नेताको बचाउमा आँखै चिम्लेर अनावश्यक डिफेन्ड गर्न बन्द गरौँ। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ ।’

‘रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले किल्चिँदा चार वर्षीया बालिकाको ज्यान गएको छ,’ रक्षाले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘गाडीको अघिल्लो भागले ठक्कर दिएपछि ढलेकी बालिकालाई पछाडिको पांग्राले पनि किचेको हामी सामाजिक संजालमा देख्न सक्छौँ । हिजो एमाले मन्त्रीको गाडीले मान्छे ठोक्दा र त्यसपछि नेतृत्वबाट आएको गैरजिम्मेवार, तल्लो स्तरको अभिव्यक्तिले हामीलाई आक्रोशित बनाएको थियो । आज ठीक त्यही गल्ती रास्वपाका समर्थकहरूले दोहोर्‍याइरहनु भएको छ ।’

गाडीमा उम्मेदवार नभए पनि जिम्मेवार अघिव्यक्ति दिन र कानुनलाई सघाउन आवश्यक भएको उनको भनाइ छ ।

‘त्यो गाडीमा स्वयं उम्मेदवार हुनुहुन्थ्यो कि हुनुहुन्न थियो त्यो अनुसन्धानको पाटो होला । तर अहिले मुख्य कुरा जिम्मेवारी हो । जिम्मेवार अभिव्यक्ति दिनुहोस्, कानुनलाई सघाउने स्पष्ट प्रतिबद्धता जनाउनुहोस्’ उनले भनेकी छिन्, ‘याद राख्नुहोस् साथीहरू, तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो । कसुर अनुसार कारबाही हुन्छ, हुनै पर्छ । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । कुनै पनि राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगरियोस् ।’

रास्वपाले शुक्रबार विज्ञप्ति निकालेर बालिकाको निधनमा दुःख व्यक्त गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..