01/23/2026, 17:36:47
शुक्रबार, माघ ०९, २०८२

अमेरिकाको ग्रिनकार्डधारी पूर्वगृहमन्त्रीकी छोरीले फिर्ता लिइन् उम्मेदवारी


काठमाडौँ, माघ ९ गते । रुपन्देही– २ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट उम्मेदवारी दिएकी कर्भिका थापाले मनोनयन फिर्ता लिएकी छन् । थापासँग अमेरिकाको ग्रिनकार्ड रहेको खुलेपछि पार्टीले मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो ।

पार्टीको निर्देशनपछि आफूले मनोनयन फिर्ता लिएको थापाले प्रेस वक्तव्यमार्फत जानकारी दिएकी छन् । ग्रिनकार्ड त्यागेको तीन महिनापछि मात्रै उम्मेदवार बन्न पाउने संवैधानिक व्यवस्था थाहा नहुँदा आफूले मनोनयन दर्ता गराएको उनको भनाइ छ ।

‘अध्ययनको सिलसिलामा लिएको स्थायी आवास अनुमतिपत्र, उम्मेदवारी दर्ता गरेपछि परित्याग गरे पनि हुने भन्ने मेरो बुझाइ थियो’, थापाले भनेकी छन्, ‘तर पछि मलाई नेपालको संविधानको धारा २९१ अनुसार कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको जानकारी भयो ।’

देशको संविधानलाई स्वीकार गर्नु हामी सबैको कर्तव्य हो भन्ने निष्कर्षमा आफू पुगेकी उनले बताएकी छन् । ‘कुनै विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले, संविधानको मर्म र भावनाअनुसार मैले ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छु’, उनले अगाडि भनेकी छन् ।

कर्भिका पूर्वगृहमन्त्री निरञ्जन थापाकी छोरी हुन् । राष्ट्रवादी छवि भएको पार्टीबाट ग्रिनकार्डधारीले उम्मेदवार बन्न नहुने भन्दै सम्झाएपछि थापाले उम्मेदवारी फिर्ता गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । रुपन्देही २ नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेल चुनाव लडिरहेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..