काठमाडौँ, माघ ९ : चालु आर्थिक वर्ष २०८२/८३ मा डिजिटल उपकरणको आयात संख्या सामान्य रूपमा बढे पनि स्मार्टफोन, ल्यापटप, राउटर लगायतको आयात मूल्य बढ्दै गएको छ । यसले सरकारको राजस्व केही बढाए पनि प्रविधि उपकरण महँगिँदै जाँदा उपभोक्तामाथि आर्थिक भार बढ्ने सक्ने संकेत गरेको छ ।
पछिल्ला ६ महिनामा र्याम (मेमोरी) को अभाव, आपूर्ति शृंखलामा गरिएका समायोजन तथा प्रिमियम उपकरणको बढ्दो मागका कारण कम्प्युटर, डिजिटल उपकरण र स्मार्टफोनको विश्वव्यापी मूल्यमा मध्यमस्तरको वृद्धि देखिएको थियो । यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा १२ लाख ५२ हजार ६ सय ३४ वटा स्मार्टफोन आयात भएका छन् । यसको आयात मूल्य २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँ छ । यसबाट सरकारले ४ अर्ब ३४ करोड ५९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा स्मार्टफोनको आयात केही कम थियो । त्यति बेला ११ लाख ११ हजार ५ सय ५६ वटा स्मार्टफोन १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँमा आयात भएका थिए । गत वर्ष यसबाट सरकारले ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
गत आर्थिक वर्षको तुलनामा यसपालि स्मार्टफोनको आयात मूल्य करिब २४ प्रतिशतले बढेको देखिन्छ । चालु आर्थिक वर्षकै असोजमा १३ अर्ब ६२ करोड ७५ लाख ३८ हजार रुपैयाँ बराबरका ८ लाख ४८ हजार ६० वटा स्मार्टफोन आयात गरिएको थियो ।
असोज यता प्रति स्मार्टफोन आयात मूल्य १५–१६ प्रतिशतले वृद्धि भएको छ । यसले गर्दा बजारमा स्मार्टफोनको मूल्य केही बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ मा ७५ हजार ५ सय ६७ वटा ल्यापटप र नोटबुक नेपाल भित्रिएका छन् । यसको आयात मूल्य ५ अर्ब २५ करोड ७४ लाख १९ हजार रुपैयाँ छ ।
सरकारले यसबाट ९९ करोड ८४ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ५२ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरका ६६ हजार ५९ वटा ल्यापटप आयात भएका थिए । गत आर्थिक वर्षमा ल्यापटपको राजस्व ८६ करोड ८ लाख ९६ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षमा प्रतिल्यापटप औसत ११ सय रुपैयाँ वा १.६ प्रतिशत बढी तिरिएको छ ।
राउटर आयात पनि यस वर्ष बढेर ४ लाख ८९ हजार ३ सय ३६ वटा पुगेको छ । यसको मूल्य १ अर्ब २५ करोड ३ लाख ३७ हजार रुपैयाँ छ भने गत आर्थिक वर्षको यही अवधिमा ९४ करोड ६८ लाख २ हजार रुपैयाँमा ३ लाख ६६ हजार ८ सय ८० वटा राउटर आएका थिए ।
गत आर्थिक वर्षको तुलनामा यसपालि प्रति राउटर आयात मूल्य केही सस्तो परेको देखिन्छ । चालु आर्थिक वर्षको असोजसम्म १ लाख ८८ हजार ८ सय २१ वटा राउटर आयात गर्न ४५ करोड १० लाख २७ हजार रुपैयाँ तिर्नुपरेको थियो । यसरी हेर्दा गत असोजको तुलनामा पुससम्म आइपुग्दा प्रति राउटर आयात मूल्य औसत ६–७ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको तुलनामा सिमकार्डको आयातमा भने तीन गुणाभन्दा बढीको वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पुससम्म ३२ लाख ८२ हजार ५ सय ९३ वटा सिमकार्ड आयात भएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० लाख ५४ हजार ८ सय ११ वटा सिमकार्ड आयात भएका थिए । नेपालमा चीन, अस्ट्रेलिया, मेक्सिको, बेलायत, जापान, कतार, डेनमार्क लगायत देशबाट सिमकार्ड आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।
पछिल्लो ६ महिनामा ११ करोड ८२ लाख १४ हजार रुपैयाँ बराबरका ४६ हजार १ सय ५७ वटा स्मार्ट वाच भित्रिएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ मूल्यका १ लाख ७ हजार ७ सय ८९ वटा स्मार्ट वाच आयात भएका थिए । मोबाइल एक्सेसरिजमध्ये ७९ लाख ७ हजार रुपैयाँ बराबरका १९ हजार २ सय ९० वटा सेल्फी स्टिक आयात भएका छन् भने ९३ लाख ७९ हजार रुपैयाँ बराबरका ५९ लाख ७ सय १७ वटा मेमोरी कार्ड आयात गरिएको छ ।
कम्प्युटर उपकरणमा चालु आर्थिक वर्षको पहिलो ५ करोड १ लाख रुपैयाँमा ६ महिनामा ३ लाख ५३ हजार ५ सय ८२ वटा माउस आयात गरिएको छ । कुल २ लाख ४ हजार ४६ वटा किबोर्डका लागि ८ करोड ११ लाख १३ हजार रुपैयाँ तिरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















