02/03/2026, 17:39:51
मङ्गलबार, माघ २०, २०८२

सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन्द्र शाह


दमक, माघ २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले सुकुम्बासीलाई नहटाउने बताउनुभएको छ। कमल गाउँपालिकाका सुकुम्बासीहरूले काठमाडौँको खोला किनारमा गरिएको व्यवहारको विषयमा कुरा राखेपछि शाहले उनीहरूलाई खोलाबाट सुरक्षित बनाउन हटाइएको तर गलत सन्देश प्रवाह गरिएको बताउनुभएको हो । सुकुम्बासीलाई डोजर लगाएर खेदाएको भन्ने भाष्य गलत भएको शाहको दाबी छ।

हामीले सुकुम्बासी जोखिममा नपरून् भनेर हटाएका हौँ,” उहाँले भन्नुभयो । जोखिममा रहेका सुकुम्बासीलाई व्यवस्थित गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ थियो । उहाँले यसमा डराउनुपर्ने कुरा नरहेको उल्लेख गर्नुभयो । सुकुम्बासीले आफूहरूले धनीपुर्जा पाउन नसकेको गुनासो गरेका थिए ।

उहाँले फागुनको पहिलो साता पार्टीले घोषणापत्र ल्याउने बताउनुभएको छ । उहाँले आफ्नो पार्टीको तर्फबाट सबै क्षेत्रलाई समेटेर जसलाई जुन विषय हेर्न मन लाग्छ, त्यही हेर्ने किसिमको घोषणापत्र सार्वजनिक हुने बताउनुभयो ।

यस क्षेत्रको मागलाई सम्बोधन गरेर, राष्ट्रिय विषय र प्रधानमन्त्री भएपछि गर्ने कामका विषयमा बेग्लाबेग्लै घोषणापत्र आउने उहाँले बताउनुभयो । मङ्गलवार झापाको कमल गाउँपालिकामा भएको घरदैलो कार्यक्रममा मतदाताले उठाएका सवालको जवाफ दिँदै उहाँले घोषणापत्रमा धेरै विषय समेटिने बताउनुभयो ।

यहाँका किसान, व्यापारी र भूमिहीनका विषयमा जसले जे चाहन्छ र ऊ जुन विषयसँग सम्बन्धित छ, उसैले हेर्ने किसिमको घोषणापत्र आउने साहले बताउनुभयो । बालेन पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयको घरदैलोमा सहभागी हुनुभएको हो ।

blog

प्रदेश चाहिन्छ र खर्च धेरै छैन

एक मतदाताले प्रदेश सरकार खारेज गरेर संसद् र मन्त्रीलाई दिइने सुविधाबाट शिक्षा तथा स्वास्थ्य निःशुल्क गर्नुपर्ने सुझाव दिएपछि बालेनले जवाफ दिँदै प्रदेश सरकार चाहिने बताउनुभएको छ । “मन्त्री र प्रदेश सांसदले कति पनि तलब खाएका छैनन्,” उहाँले भन्नुभयो । यसलाई अझ बलियो बनाउनुपर्छ भन्ने उहाँको भनाइ थियो ।

प्रदेश सरकार थोरै पैसामा नै चलेको र यसले भार नथपेको उहाँको दाबी थियो । बालेन आदिवासी र सुकुम्बासी समुदायलाई लक्षित गरेर मङ्गलवारदेखि घरदैलो अभियानमा निस्कनुभएको हो ।

सुरक्षा व्यवस्था कडा झापा क्षेत्र नं. ५ अहिले सबैको चासोको विषय बनेको छ । यहाँको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आचारसंहिता विपरीत घरदैलो कार्यक्रम नगर्न सार्वजनिक सूचना जारी गरे पनि यसको पालना भएको छैन ।

यो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मी संग्रौला लगायतका उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

– विष्णुप्रसाद पोखरेल